तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारग्रामलाई हर प्रकारले उपयोगी र प्रभावकारी बनाउनुपर्छ : अध्यक्ष डा.विष्ट

विराटनगर । सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालका अध्यक्ष डा.महेन्द्र विष्टले आज विराटनगर–४ खार्जीस्थित तारीणिप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालको निरीक्षण एवं अनुगमन गर्नुभएको छ । 

अध्यक्ष डा.विष्ट र सार्वजनिक सेवा प्रसारण  नेपाल सञ्चालक समितिका सदस्य अनिता गुरुङले आज संयुक्त रुपमा संचारग्रामकाे अनुगमन एवं निरीक्षण गर्नुभएको हो । 

निरीक्षणपछि छलफल कार्यक्रममा अध्यक्ष डा.विष्टले सञ्चारग्रामलाई थप उपयोगी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारग्रामको इ–लाइब्रेरी तथा सङ्ग्रहालय (म्युजियम)को बारेमा स्थानीयस्तरमा यसबारे जानकारी गराउन यसको प्रचारप्रसार आवश्यक भएको बताउनुभयो  ।

अध्यक्ष डा.विष्टले सञ्चारग्रामको स्थापनामा राज्यले ठुलो लगानी गरेको उल्लेख गर्नुहुँदै यसको प्रभावकारी सञ्चालन गर्दै यसलाई उपयोगी बनाउनुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरू संचारग्राममा आयोजना गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा सञ्चालक समितिका सदस्य अनिता गुरुङले सञ्चारग्राम र यस क्षेत्रको धरोहर भएको र सञ्चारग्रामा सञ्चारसम्बन्धी रेडियो नेपालसँग जोडिएका ऐतिहासिक बस्तुहरू रहेकाले यसलाई जनतासामु पुर्‍याउने गरी हर प्रकारले उपयोगी र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । 

सो अवसरमा सञ्चारग्रामका प्रमुख बलराम चौधरीले सञ्चारग्रामको रेडियो प्रसारण तथा यहाँ अहिले भइरहेका क्रियाकलापको बारेमा अध्यक्ष डा. विष्ट र सञ्चालक समितिका सदस्य गुरुङलाई जानकारी गराउनुभएको थियो । 

सञ्चारग्राममा अहिले रेडियो नेपालले रेडियो महानगर एफएम विराटनगर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button