तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश : सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे (१५औँ) अधिवेशन शुक्रबार (आज) बाट सुरु भएको छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन बैठकको पहिलो दिन आज प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

बैठकमा दलका नेताहरूले प्रदेश सभा नागरिकका समस्याका बारेमा छलफल गर्ने र समाधान गर्ने थलो भएको भन्दै प्रदेशको अधिकार र प्रदेशको विकासमा साझा धारणा बनाउँदै एकमत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

बैठकमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले नागरिकको आवश्यकता र माग पुरा गर्न काम गरिरहेको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माणका लागि दुई ठुला दल मिलेर सरकार गठन भएको भन्दै सरकारले लोकप्रियता नभइ आवश्यकताको आधारमा काम गरिरहेको बताउनुभयो ।

बैठकमा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले दुई वटा ठुला दल एमाले कांग्रेसको महागठबन्धन बनेदेखि देशमा अशान्ति भइरहेको बताउनुभयो । वर्तमान सरकारका साझेदारहरू गठबन्धन टिक्छ वा टिक्दैन भनेर आतङ्कित बनिरहेको उहाँले बताउनुभयो ।

बैठकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले राजनीतिक स्थिरताको काम वर्तमान सरकारले गरिरहेको बताउनुभयो । उहाँले वर्तमान सरकार २०८४ सम्म निरन्तर जानेमा शङ्का नरहेको भन्दै केही विदेशी शक्तिहरू नेपालाई अस्थिरतातर्फ धकेल्न अग्रसर रहेको बताउनुभयो । यो अधिवेशन नयाँ कानुन बनाउन, एकताको अधिवेशन बन्ने, समृद्ध प्रदेश बनाउनेतर्फ उन्मुख हुने उहाँले बताउनुभयो ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धब थापाले यो अधिवेशनले प्रदेश र प्रदेशका नागरिकको पक्षमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गर्दै दुई ठुला दलको सरकार बनेपछि नागरिकले धेरै अपेक्षा गरेपनि सरकारले काम गर्न नसकेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले प्रदेश सरकारको नेतृत्व र नीतिमा कमजोरी र प्रशासनिक अक्षमता देखिएको बताउनुभयो । उहाँले भन्दै मन्त्रालय विभाजन अनावश्यक भएको, फजुल खर्च बढेको, स्रोतको दुरुपयोग भएको बताउनुभयो ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले प्रदेशको औचित्यमाथि नै प्रश्न उठाउने अवस्था आउनेमा अहिलेसम्ममा सत्तामा जाने दलनै जिम्मेवार रहेको बताउनुभयो ।

नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले सङ्घीयताका कारण जनजाति समुदायले अधिकार पाएको बताउँदै नागरिकको भाषासम्बन्धी अधिकार पाएको बताउनुभयो ।

प्रदेश सभाको बैठक माघ २३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button