पर्याप्त छलफल गरी पार्टी एकतामा प्रवेश गर्नुपर्नेमा जोड
काठमाडौँ । समाजवादी मोर्चा नेपालका नेताहरूले सहभागी दलहरुबीच पर्याप्त छलफल गरी विचार र कार्यक्रममा एकरुपता काम भएपछि मात्रै पार्टी एकतामा प्रवेश गर्नुपर्नेमा जोड दिनुभएको छ ।
समाजवादी मोर्चाले आज काठमाडौँमा गरेको विचार सभालाई सम्बोधन गर्नुहुँदै मोर्चामा सहभागी दलका शीर्ष नेताहरूले पार्टी एकतालाई सार्थक बनाउन दलहरुबीच पर्याप्त छलफल हुनुपर्ने आवश्यकता औँल्याउनुहुँदै पार्टी एकता नहुँदासम्म मोर्चालाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।

सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई नयाँ वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित गर्न मोर्चामा सहभागी दलहरूले आ–आफ्नो दललाई सक्रिय र लोकप्रिय बनाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले मोर्चामा विचार मिल्ने अन्य राजनीतिक दलहरूलाई पनि सहभागी गराउँदै लैजानुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शासन प्रणाली, निर्वाचन प्रणाली र समाजवादको लक्ष्यसम्म पुग्ने मार्गचित्रका बारेमा मोर्चामा सहभागी दलहरुबीच पर्याप्त छलफल भएमात्रै पार्टी एकताले सार्थकता पाउने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव लगायतका नेताहरूले नेपाली जनताको इच्छा र आकाङ्क्षालाई सम्बोधन गर्न सक्ने नयाँ राजनीतिक विचार सहितको वैकल्पिक शक्तिका रुपमा समाजवादी मोर्चालाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्