इलाममा ९ हजार ८ सय २८ किशोरीलाई एचपिभी खोप लगाइने
इलाम । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान अन्तर्गत इलाममा ९ हजार ८ सय २८ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।

देशव्यापी खोप कार्यक्रमअन्तर्गत माघ २२ गतेदेखी फागुन ७ सम्म एकै पटक सञ्चालन हुदैछ । इलामा यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन हुने जिल्लाका १० वटै पालिकामा रहेका सम्पुर्ण संस्थागत र सामुदायिक विद्यालयहरूमा रहेको ३४० खोप केन्द्रबाट खोप लगाइने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
यो वर्ष अभियानकै रूपमा खोप कार्यक्रम अघि बढाउने र आगामी वर्षबाट नियमित खोपका रूपमा दिइने स्वास्थ्य कार्यालय इलामका खोप निरीक्षक गंगाधर पण्डितले बताउनुभयो ।
पछिल्लो समयमा महिलाहरूमा क्यान्सर रोगको जोखिम बढिरहेकाले क्यान्सर विरुद्धको एचपिभी खोप किशोरीहरूलाई नै दिइने सरकारको योजना रहेकाले यो अभियानलाई सफल पार्न प्रयास गरिएको जनस्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले बताउनुभयो ।
नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र यसबाट हरेक वर्ष १ हजार ३१३ जना महिलाहरूको मृत्यु हुने गरेको अनुमान रहको छ ।
विश्वमा पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सर मध्येमा चौथो मुख्य क्यान्सरको रुपमा रहेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्क अनुसार विश्वभर ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू रहेको र मृत्यु हुने सङ्ख्या न्यून र मध्यम आय भएका देशहरूमा बढी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्