उदयपुरमा बीस हजार बढीलाई एचपिभी खोप लगाइने
उदयपुर । सरकारले अभियानका रुपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान अन्तर्गत उदयपुरमा २० हजार १ सय २२ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ।
जिल्लाका ८ पालिकाका ६ देखी १० कक्षा सम्म सञ्चालित २ सय ८३ माध्यमिक विद्यालय, ९२ स्वास्थ्य संस्था र बाह्य खोप केन्द्र २१ वटा गरी कुल ३ सय ९६ खोप केन्द्रबाट २० हजार १ सय २२ जना किशोरीहरूलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत चिरञ्जीवी निरौलाले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले मङ्गलवार जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरू सँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर एचपिभी खोप अभियान तथा समग्र स्वास्थ्य अवस्था सम्बन्धि जानकारी गराएको थियो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुरमा यहीँ माघ २२ गते विश्व क्यान्सर दिवसको दिने देखि फागुन २ गते सम्म जिल्ला भरका कक्षा ६ देखी १० कक्षा सम्म अध्ययन गर्ने किशोरीहरू र विद्यालय बाहिरका १० देखि १४ बर्ष उमेर समूहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने खोप अधिकृत निरौलाले जानकारी दिनुभयो ।
उदयपुरमा एचपिभी खोप अभियान माघ २२ गते सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका १० बोक्से स्थित बालमन्दिर माध्यमिक विद्यालयबाट सुरु गरिने समेत बताइएको छ । एचपिभी खोपका लागि उदयपुरमा ४ सय ३ स्वास्थ्य कर्मी र ७ सय ९९ जना स्वयम् सेवक परिचालन गरिने छ ।







प्रतिक्रिया राख्नुहोस्