गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि
गुल्मी । पछिल्लो दिनहरूमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड अत्यधिक बढेको छ । सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरे सँगै भिड् बढेको हो ।

प्रशासन कार्यालयहरूमा परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराउने र बनेर आएकाहरूको लिन आउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । सरकारले सबै प्रकारका सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउने सङ्ख्या वृद्धि भएको छ ।
सामान्यतया ४० जना देखि ८० जनासम्मको राष्ट्रिय परिचयपत्रका लागि आवेदन लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा दोब्बरले सङ्ख्या वृद्धि भएको छ । अहिले प्रशासन कार्यालयमा २ वटा स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य गरिएको छ । अहिले दोब्बरले सङ्ख्या वृद्धि हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको सेवाग्राहीले बताउनुभयो ।

गुल्मी जिल्लामा ६८ हजार बढीलाई राष्ट्रिय परिचयपत्र वितरण भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण कार्य भइरहेको छ । दुवै स्थानबाट जिल्लामा हालसम्म ६८ हजार ७२१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण भएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत ९ हजार ८७९ जनालाई र वडा तहमै अभियान अन्तर्गत ५८ हजार ८४२ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

जिल्लामा हालसम्म २ लाख ६ हजार ४६६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन् । त्यसमध्ये १ लाख ८९ हजार ५५९ जनाको राष्ट्रिय परिचयपत्र बनेर आएको छ । नागरिकको सहजताको जिल्लामा कात्तिक ८ गतेदेखि वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिँदै आएको छ । जिल्लाको इस्मा, गुल्मीदरबार, कालिगण्डकी, धुर्कोट, मदाने, चन्द्रकोट, रुरुक्षेत्र र मालिका गाउँपालिकामा स्थानीय वडा तहमै पुगेर वितरण भइसकेको छ । बाँकी रहेका सत्यवती र मुसिकोट नगरपालिकामा वितरण भइरहेको छ । वितरण बाँकी रहेको रेसुङ्गा नगरपालिकामा अन्तिम चरणमा वितरण गरिँदै छ ।
प्रतिक्रिया राख्नुहोस्