बाँकेमा कुष्ठरोगको प्रभावदर उच्च, ६ महिनामै ५८ जना नयाँ रोगी थपिए
नेपालगन्ज । बाँकेमा कुष्ठरोगको प्रभावदर उच्च छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसङ्ख्यामा १ भन्दा उच्च रहेको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा जिल्लामा ५८ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कुष्ठरोग प्रेषण अस्पतालका रुपमा रहेको बाँकेको जानकी-३ स्थित आइएनएफ साइनिङ अस्पतालका अनुसार नयाँ फेला परेका बिरामी मध्ये बाँकेका २३ जना, बर्दियाका १५ जना र अरू अन्य जिल्ला तथा सीमा पारीका छन् । आइएनएफ अस्पताल प्रमुख मङ्गल थारुले बहिरङ्ग सेवामा ९६१४ जनाको जाँच गर्दा ५८ जना नयाँ कुष्ठरोगी भेटिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन रविन्द्र साहका अनुसार जिल्लामा पछिल्लो पाँच महिनामा ३६ जनाले औषधि सेवन गरिरहेको बताउनुभयो । ती मध्ये कोहलपुरका १०, नेपालगन्जका ८, डुडुवा ५, राप्तीसोनारी ४ तथा बैजनाथ, खजुरा र नरैनापुरका २/२ जना छन् ।
नेपालले सन् २०१० मै कुष्ठरोग निवारणको राष्ट्रिय लक्ष्य प्राप्त गरे पनि बाँकेमा प्रभावदर बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो । आगामी आइतबार नेपालमा पनि ७२औँ विश्व कुष्ठरोग दिवस मनाइँदैछ ।
दिवसको पूर्व सन्ध्यामा साइनिङ अस्पतालले आज पत्रकार भेटघाट गरेर रोगको पछिल्लो अवस्था र दिवसको तयारीका बारेमा जानकारी गराएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, बिएनएमटी नेपालका देवेन्द्र पाण्डे, साइनिङ अस्पतालका यम बहादुर केसी लगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्