भैरहवा भन्सारद्वारा ४६ अर्ब बढी राजस्व सङ्कलन
रुपन्देही । भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ४६ अर्ब २ करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा भन्सार राजस्व सङ्कलन बढी हो । ‘हामीले भन्सार विभागले दिएको लक्ष्य भेटाउन सकेका छैनौँ’ प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले भन्नुभयो, ‘तर निराश हुने गरी राजस्व सङ्कलन घटेको छैन ।’
रेग्मीका अनुसार गत वर्ष यही अवधिमा ३९ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो । जुन लक्ष्यको ३० दशमलव ६२ प्रतिशत हो । तर, अहिले चालू आर्थिक वर्ष लक्ष्यको ४२ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । यस वर्ष लक्ष्य पनि बढी छ । कार्यालयले साउनदेखि पुससम्मको राजस्व सङ्कलन औसतमा ८० प्रतिशत माथि रहेको छ ।
कार्यालयले साउनमा ८३ दशमलव ५३ प्रतिशत, भदौमा ९० दशमलव ५ प्रतिशत, असोजमा १०० दशमलव ३९ प्रतिशत, कार्तिकमा ८३ दशमलव १७ , मंसिरमा ८२ दशमलव १७ र पुसमा ८० दशमलव ६२ प्रतिशत राजस्व सङ्कलन गरेको हो । यो कार्यालयबाट गत तीन वर्षदेखि लगातार भन्सार राजस्व सङ्कलन घटेकोमा चालु आर्थिक वर्षको सुरुवातदेखि नै सुधार भइरहेको छ । ‘शतप्रतिशत राजस्व सङ्कलन नभए पनि औसतमा ८० प्रतिशतमाथि छ र यो सन्तोषजनक हो,’रेग्मीले भन्नुभयो । ‘भन्सार विभागले दिएको लक्ष्यअनुसार सङ्कलन गर्न नसकेको हो, तर विगतका वर्षभन्दा सुधार गरेका छौँ ’उहाँले भन्नुभयो, ‘समग्र देशको भन्सार राजस्व – सङ्कलनको लक्ष्यभन्दा हामीले सन्तोषजनक सङ्कलन गरेका छौँ । ’
भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१र८२ का लागि १ खर्ब ९ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको छ । कार्यालयले गत साउनदेखि ८० प्रतिशतमाथि नै राजस्व सङ्कलन गर्दै आइरहेको छ ।
२०७८ पुस ५ बाट नेपाल राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका विभिन्न वस्तुहरूको आयातमा अनिवार्य प्रतितपत्र (एलसी) खोलेर शतप्रतिशत र दुईवटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै वस्तु आयातमा कमी हुँदै आउँदा राजस्व सङ्कलन खुम्चिन गएको थियो । कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा लक्ष्यको ६३ दशमलव २४ प्रतिशत सङ्कलन गरेको थियो ।भन्सार कार्यालयका अनुसार बेलहिया नाकाबाट भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जीप, कार र भ्यान, पेट्रोल, मोबाइल, टेलिफोन, इलेक्ट्रिक कार, जीप, भ्यान, एमएस विलेट, टायल, डिजेल, मार्बल स्ल्याब र एलपी ग्यास रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्