तपाईँ सुन्दै हुनुहुन्छः

सुन्तला ढुवानीमा अनुदान पाएपछि किसान खुशी 

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा उत्पादित अर्ग्यानिक सुन्तला सदरमुकाम मार्तडीबाट बिक्री हुन थालेको छ । गौमुल गाउँपालिका ४ रेडिखेल्नामा उत्पादन भएको सुन्तला  बुधवार देखि सदरमुकाम मार्तडी बजार बाट  बिक्री वितरण शुरु  गरिएको हो ।

गौमुल गाउँपालिकाको समन्वय तथा कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा स्थानीय कृषकले उत्पादन गरेको सुन्तला बजारीकरणका लागि  सदरमुकाम मार्तडीमा आइपुगेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम साहानीले बताउनुभयो।

 ढुवानी र बजारीकरणको अभावमा बारीमै थन्किएको सुन्तला बिक्रीका लागि ढुवानी अनुदान मार्फत मार्तडी बजारमा आइपुगेको प्रमुख साहानीको भनाइ छ।

त्यस्तै सुन्तला उत्पादक कृषक पारु रोकायाले आफूले सरस्वती पूजा बहुउद्देश्यीय कृषि फर्म खोलेर लामो समयदेखि सुन्तला उत्पादन गर्दै आएको भएपनि बजारीकरण नहुँदा यस अघि बारीमै खेर जाने गरेको भए पनि यस बर्ष भने गाउँपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान गरिदिएपछि बजार सम्म पुर्‍याउन सफल भएकाले अत्यन्तै खुशि महसुस गरेको बताउनुभयो ।

अर्ग्यानिक र निकै स्वादिलो हुने गौमुलको सुन्तला मार्तडी बजारमा बिक्री कक्ष स्थापना गरेरै विक्री वितरण  गर्न थालिएको छ।

  जिल्लामा पछिल्लो समय  कृषि ज्ञान केन्द्र बाजुराले कृषि उपज ढुवानीमा अनुदान दिन थालेपछि फलफूल तथा अन्नबाली  बजारीकरण तथा जिल्ला बाहिर निर्यातमा वृद्धि भई कृषकहरूलाई सहज भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button