तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रतिष्ठानमा डायलासिस सेवा सुरु नहुँदा नागरिकलाई सास्ती

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उद्घाटन भएको एकवर्ष बढी समय बितिसक्दा पनि डायलासिस सेवा सञ्चालनमा आउन सकेको छैन । नेपाल सरकारले ६ वटा उपकरण उपलब्ध गराएर तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेको एक वर्षभन्दा बढी भईसक्दा पनि डायलासिस सेवा नियमित सञ्चालन हुन सकेको छैन । 

तत्कालीन स्वास्थ्यमन्त्री बस्नेतले  २०८० साल भदौ १४ गतेका दिन डायलासिस सेवा सुरु गरेका हुन् । जुम्लामा डायलासिस सेवा शुभारम्भ भएको एक वर्ष ४ महिना बित्यो । तर एकातिर उपकरण थन्किएका छन् । भने अर्कोतिर नागरिकले सास्ती पाएका छन् । 

डायलासिस सेवा सञ्चालनमा नआउँदा कर्णालीवासीले महँगो खर्च गरेर काठमाडौँ नेपालगन्ज जानु पर्ने बाध्यता हटेको छैन । जुम्लामा डायलासिस सेवा शुभारम्भ सँगै मृगौला सम्बन्धी बिरामीले डायलासिस सेवाका लागि काठमाडौँ, नेपालगन्ज धाएर महँगो खर्च गर्नु नपर्ने भन्दै खुसीयाली छाएको थियो। तर डायलासिस उद्घाटनको एक वर्ष ४ महिना पुग्दा समेत सेवा सुरु नहुँदा नागरिकले सास्ती पाएका छन् । 

उपकरण ल्याएर मन्त्रीको उपस्थितिमा शुभारम्भ गरिएको डायलासिस सेवाले दुर्गम कर्णालीका नागरिकले सेवा पाउने आशा गरिएपनि सेवा सञ्चालनमा नआउँदा स्थानीयले वर्षौँदेखि सास्ती खेपिरहेका छन् ।  प्रतिष्ठानकै चिकित्सकका अनुसार वर्षमा २०/२५ जना डायलासिसका बिरामी जिल्लाबाहिर पठाउने गरिएको छ । तर प्रतिष्ठानमा डायलासिस उपकरण थन्किएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुचारु नहुँदा डोल्पा मुड्केचुलाका गाउँपालिका वडा नं.७ निवासी ४० वर्षीय धर्म विकको प्रतिष्ठानमै मुत्यु भएको छ ।

एक्कासी शरीर नचलेपछि धर्मलाई पुस २४ गते उपचारका लागि जुम्ला पुर्‍याइएको थियो । केही दिन उपचारपछि तत्काल उनलाई थप उपचार (डायलासिस) गर्नु पर्ने डाक्टरले सल्लाह दिएपनि जुम्लामा उक्त सेवा सञ्चालन नभएको बाहिर लिन ढिला भएपछि मृत्यु भएको हो  

मृगौलाका बिरामीलाई १/२ हप्ता सम्म डायलासिस गर्नु पर्ने त्यसपछि मात्रै मृगौला प्रत्यारोपण गर्नुपर्छ । जुम्लामा डायलासिस नहुने भएपछि रेफर गरेका थियौ । बिरामीलाई डायलासिसकै आवश्यकता थियो । उक्त सेवा समयमै नपाउँदा मृत्यु भएको प्रतिष्ठानका एक चिकित्सकले बताउनुभयो । 

जुम्लामा डायलासिस सेवा नपाएपछि अस्पतालले २६ गते रेफर गरेपनि २७ गते बिहान ८ बजेतिर मृत्यु भएको मृतक धर्मका दाइ टाउके विकले बताउनुभयो । उहाँले भन्नुभयो,‘जुम्लामा डायलासिस सेवा सञ्चालन हुन नसकेको कुरा बल्ला थाहा पाए । डोल्पाबाट जुम्ला ल्याउनै १५/२० हजार खर्च भयो । उपचारमा पनि त्यतिकै रुपैयाँ खर्च भयो । हामीले उपचार पाउन सकेनौ । तर अरू बिरामीले त्यो नियति भोग्नु नपरोस् । छिटै सञ्चालनमा ल्याउन पहल गरिनु पर्छ ।’

डायलासिस सेवा सञ्चालनको तयारी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डायलासिस सेवा  सञ्चालनमा ल्याउने तयारी गरेको छ । पुरानो मेसिनले काम नगरेपछि नयाँ मेसिन ल्याएर डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको हो । 

डायलासिस सेवा शुभारम्भ गर्दा सङ्घीय सरकारले ६ मेसिन प्रतिष्ठानलाई उपलब्ध गराएको छ । जसमध्य महत्वपूर्ण उपकरण हो (आरो) मेसिन । आरो मेसिनले डायलासिसका लागि (डिस्टिलरी वाटर) शुद्ध पानी निकाल्छ । 

तर पुरानो आरो मेसिनले निकालेको पानी गुणस्तरीय नभएपछि डायलासिस सेवा रोकिएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताउनुभयो ।  डायलासिस सेवाका लागि आरो मेसिन मेरुदण्ड सरह हो । आरो मेसिनले स्पेशन पानी ननिकाले सम्म डायलासिस सेवा सञ्चालन हुन सक्दैन ।  

उहाँले भन्नुभयो,‘प्रतिष्ठानमा भएको पुरानो आरो मेसिनले चित्त बुझ्दो पानी निकाल्न सकेन् । ३/४ पटक परिक्षण गर्दा पनि स्पेसल पानी ननिस्किएपछि सेवा रोकिएको थियो । अहिले नयाँ मेसिन खरिद गरेर ल्याउने तयारी छ । आशा गरौँ चाडै डायलासिस सेवा सञ्चालन हुने छ ।’ 

प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले पुरानो आरो मेसिनले २/३ पटक परिक्षण गर्दा पनि नतिजा राम्रो आउँदा सेवा सञ्चालन हुन नसकेको बताउनुभयो । नयाँ मेसिन खरिद भएर आउँदै छ । उहाँले भन्नुभयो,‘मेसिन ३/४ दिनपछि जुम्ला पुग्छ । ८ देखि १० लाख लागतको मेसिन आउँदै छ । त्यसले प्रतिघण्टा १ हजार लिटर पानी निकाल्छ । आरो मेसिनले निकालेको पानी २४ घण्टा भित्र काठमाडौँ लिएर ल्याबमा परिक्षण गर्नु पर्छ । परिक्षण सफल भएको खण्डमा मात्रै जुम्लामा डायलासिस सेवा सुरु हुने छ ।’ 

प्रतिष्ठानका सबै सेवालाई थप प्रभावकारी बनाउन लागि परेका छौ । केही सेवाहरू प्रक्रियाहरूकै कारण ढिलाई हुन पुगेपनि प्रभावकारी सेवा प्रवाहमा प्रतिष्ठान गम्भीर रहेको रजिष्टार महतको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button