सकारात्मक सोँच नै सफलताको मार्ग हो : मुख्यमन्त्री आचार्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोँचले नै युवाहरूलाई चुनौतीहरूसँग जुध्न र सफलताका लागि अघि बढ्न प्रेरित गर्ने बताउनुभएको छ ।
लियो क्लबले आयोजना गरेको दोस्रो काउन्सिल बैठकलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरू सकारात्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताउनुभयो । “तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारीताका साथ लाग्नुस् । दृढ सङ्कल्प लिनुस् सफलता प्राप्त सहजै हुन्छ”, उहाँले भन्नुभयो, “लोभ गर्ने, अहङ्कार पाल्ने हो भने सफलता प्राप्त हुँदैन । आजको भोली कुनै चिजको परिणाम प्राप्त हुँदैन । तर, निरन्तर लागेपछि अवश्य सुखद परिणाम प्राप्त हुन्छ ।”
युवाहरूलाई स्वदेशमा उद्यमशीलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउँदै उहाँले अवसरहरूको खोजी स्वदेशमै गर्न आह्वान गर्नुभयो । “युवाहरूको साथमा सरकार छ । यहाँहरूलाई उद्यमशीलता र रोजगारी सुनिश्चित गर्ने योजना सरकारले बनाएको छ”, उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योगको प्रचुर सम्भावना छ । यही केही गर्न सकिन्छ ।”
हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने गरी क्रियाशील हुन युवाहरूमा उहाँले आग्रह गर्नुभयो । “तपाई जुन क्षेत्रमा लाग्नुहुन्छ, त्यहाँ राम्रो गर्नुस्, श्रेष्ठता हाँसिल गर्नुस्” , उहाँले भन्नुभयो, “गरे के हुँदैन । सबै सम्भव छ । यसलाई उदाहरणमा बदल्न जरुरी छ ।”
उहाँले प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै स्वरोजगारका क्षेत्रमा अघि बढ्न आग्रह गर्नुभयो । “हाम्रो प्रदेश प्राकृतिक रुपमा सम्भावनानै सम्भावना भएको प्रदेश हो । यहाँ हिमाल छ । पहाड छ । तराई छ । भित्री मधेस छ । गौतमबुद्धको जन्मस्थल यही छ”, उहाँले भन्नुभयो,“विश्व जगतलाई नै आकर्षित गर्ने सम्भावना र स्रोत हाम्रै प्रदेशमा छ ।”
विदेशमा रहेका युवाहरूलाई पनि स्वदेशमा आकर्षित गर्ने गरी युवाहरूले रचनात्मक काम गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्