तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउने गरी भूमिका बढाउनुपर्ने बताउनुभएको छ । 

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउने गरी भूमिका बढाउन आवश्यक रहेको धारणा राख्नुभएको हो । 

विश्वविद्यालयको छैटौँ सभा (सिनेट) बैठकलाई आज बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको धारणा राख्नुभयो । “यो विश्वविद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौँ। देशका विभिन्न स्थानबाट विद्यार्थीहरू यहाँ पढ्न आउने वातावरण र अवसर सरकारले सृजना गर्न चाहन्छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउन चाहन्छौँ। यो विश्वविद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा तपाईँ हामी सबै गम्भीर भएर अझ परिष्कृत गरेर अघि बढ्न जरुरी छ ।”

प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने सङ्कल्पसहित विश्वविद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरूको अध्ययन केन्द्रको रुपमा समेत विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

“विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ । आवश्यकताको आधारमा सङ्कायहरू थप गर्ने बारेमा पनि सोच्न जरुरी छ” उहाँले भन्नुभयो, “विद्यार्थीलाई कामसँग जोड्नै पर्छ । सरकारले यसमा ध्यान दिन्छ ।” 

विश्वविद्यालयका कुलपति समेत रहनुभएका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको समेत जानकारी गराउनुभयो । 

विश्वविद्यालयको सिनेट बैठकमा आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक प्रगतिको समीक्षा, चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम लगायत विविध विषयहरूमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button