मुन्दुम पदमार्गको विषयमा भोजपुरको चखेवामा पर्यटन बहस गरिने
भोजपुर । भोजपुरको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ एक गतेबाट सांस्कृतिक तथा पर्यटन कृषि मेलाको आयोजना हुदैछ । मुन्दुम ट्रेल भ्रमण बर्ष २०२५ लाई लक्षित गर्दे मेलाको आयोजना गरिएको हो । सरकारको एक सय पर्यटकीय गन्तव्य मध्ये भोजपुरको मुन्दुम पदमार्ग पनि एक भएकाले सो मार्गको प्रचार प्रसारका लागि पनि मुन्दुम ट्रेल भ्रमण वर्षको आयोजना गरिएको आयोजक टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पर्यटकीय मुन्दुम पदमार्गको विषयमा पर्यटनसँग विकासलाई समेतसँगै जोडनका लागि माघ तीन गने ‘पर्यटनसँग बिकास’ विषयमा बहस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

यस्तै मेलाको अवसरमा भोजपुर र खोटाङका मन्त्री तथा सांसदहरूलाई समेत पर्यटन बर्ष र मुन्दुम पदमार्गका विषय समेटिएको अवधारणा पत्र बुझाइने कार्यक्रम रहेको छ । मेलाको प्रमुख आकर्षणमा साकेला प्रतियोगिता र धनुष बाँड प्रतियोगिता समेत सञ्चालन गरिने छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा माघ एक गतेबाट पाँच गतेसम्म टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ नागीको चखेवामा बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाको आयोजना गरिएको छ ।

स्थानीय स्तरका कृषि उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूबाट सांस्कृतिक, साङ्गीतिक एवं मनोरञ्जनात्मक कार्यहरू हुने टेम्केमैयुङ गाउँपालिका वडा नम्बर तीनका वडाध्यक्ष पूर्णबहादुर राईले बताउनुभयो । एक लाख पर्यटक भित्र्याउने लक्षका साथ गाउँपालिकाले मुन्दुम ट्रेल भ्रमण बर्ष २०२५ का लागि विभिन्न कार्यक्रमहरू तय गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्