शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटस्थित शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याउनका लागि आफू सहयोग गर्न तयार रहेको बताउनुभयो ।

बैठकमा एमाले सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गर्नुभएको थियो ।
बैठकमा उठेका विषयमा जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गा र त्यसले चर्चेको जग्गा कानुन विपरीत कुनै व्यक्ति वा कम्पनीका नाममा गएको भए सरकारले फिर्ता ल्याउने जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकले शेरा दरबारको जग्गाको सम्बन्धमा गम्भीर छानबिन र अनुसन्धान हुने पनि बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं समिति सदस्य गगन थापाले भ्रष्टाचारका ठूला–ठूला काण्ड टुङ्गोमा पुर्याउन शक्तिशाली आयोग नै बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेताहरूले एकअर्कालाई खुइल्याउने नाममा भ्रष्टाचारमा जोड्ने र ती विषय लामो समयसम्म पनि टुङ्गोमा नपुग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै सांसद थापाले शक्तिशाली आयोग बनाएर ठूला भ्रष्टाचारका काण्ड अध्ययन गरी टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांसद थापाले गम्भीर विषय उठाउनु भएकोले प्रमुख नेताहरूसँगै बसेर त्यस विषयमा छलफल गर्नु उचित हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्