मधेश प्रदेश : चालु आर्थिक वर्षको ११ महिनामा ट्राफिक दुर्घटनाबाट ४८५ को मृत्यु
जनकपुरधाम । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मधेश प्रदेशमा सवारी दुर्घटनाको उच्च तथ्याङ्क सार्वजनिक भएको छ । यस अवधिमा कुल ७ हजार ३१७ सवारी दुर्घटना हुँदा ४८५ जनाको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
यसै अवधिमा १० हजार ९५७ जना घाइते भएका छन् । दुर्घटनाको संख्या उच्च भए पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मृतक तथा घाइतेको सङ्ख्यामा कमी आएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज न्यौपानेका अनुसार अधिकांश दुर्घटना मानवीय लापरबाहीका कारण हुने गरेको छ ।
उहाँले चालकको लापरबाही, ट्राफिक नियमको उल्लङ्घन, गति नियन्त्रणमा कमजोरी तथा असावधानी नै दुर्घटनाका प्रमुख कारण बनेको जानकारी दिनुभयो । त्यसमा पनि मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या अधिक रहेको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट उल्लेख्य मात्रामा राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ लाख ८५९ सवारी साधनमाथि कारबाही गर्दा १० करोड १३ लाख १८ हजार १५९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यातायात व्यवस्था कार्यालयमार्फत ६३३ सवारी साधनमाथि कारबाही गरी थप १ करोड १२ लाख ४६ हजार ५९९ रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्