आंशिक सञ्चालनमा तामाकोशी जलविद्युत केन्द्र
दोलखा । गत असोज ११ र १२ गतेको अविरल वर्षा पछि आएको बाढी– पहिरोले क्षतिग्रस्त बनाई पूर्ण रुपमा बन्द रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा मंगलबारबाट १२० मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजना प्रमुख मोहन गौतमले बताउनुभयो ।
मंगलवार बेलुका ७ः४० बाट १२० मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजना प्रमुख गौतमले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले आयोजनाको स्थलगत निरीक्षण गर्दै पुष १० गतेबाट विद्युत् उत्पादनको कार्यतालिका बनाउनुभएको थियो ।
गत असोज ११ र १२ गतेको अविरल वर्षा पछिको बाढी– पहिरोले केन्द्रको हेडवर्क कन्ट्रोल भवन पूर्ण रुपमा क्षति भएको थियो भने बालुवा थिग्राउने पोखरी र पानी बग्ने नहरको करिब २५ प्रतिशत भाग पूर्ण रुपमा क्षति भएको थियो । बाढी– पहिरोमा परी नेपाली सेनाका दुई जवान र केन्द्रका दुई कर्मचारीको ज्यानसमेत गएको थियो ।
बाढी– पहिरोले क्षति गरेको स्थानमा जम्मा भएको ढुुङ्गा र फोहरहरू सफा गरी हाललाई विद्युत् केन्द्रमा रहेको दुई वटा बालुवा थिग्राउने पोखरी मध्ये आंशिकरुपमा क्षति भएको देब्रे पट्टीको बालुवा थिग्राउने पोखरी तथा पानी बग्ने नहरको सिभिल मर्मत गरी मंगलवार बेलुकाबाट रन अफ द रिभर मोडलमा विद्युत् केन्द्रलाई आशंक रुपमा सञ्चालन गरी १२० मेगावाट विद्युत् उत्पादन सुरु गरिएको केन्द्रको प्रमुख प्रबन्धक पूर्ण गोपाल रञ्जितले बताउनुभयो ।
विद्युत् केन्द्र आशंक सञ्चालन भएपछि तामाकोशी नदिमा पानीको बहावको अवस्था हेरेर हाललाई १०० मेगावाटदेखि १२० मेगावाटसम्म विद्युत् उत्पादन हुने प्रमुख प्रबन्धक रञ्जितको भनाई छ । विद्युत् उत्पादनकै लागि आयोजना प्रमुख मोहन गौतम लगायत आफुहरु रात– दिन काममा लागेको रञ्जितले बताउनुभयो ।
बाढी– पहिरोबाट केन्द्रको हेडवर्क कन्ट्रोल भवनमा रहेको सम्पूर्ण विद्युतीय उपकरणहरू पूर्ण रुपमा क्षति भएको, मेकानिकल उपकरणहरूमा गेट तथा हाईड्रोलिक सिस्टममा क्षति पुगेको, केन्द्रमा पुग्ने गोगर– लामाबगर सडक खण्डको ५० मिटर सडक पूर्ण रुपमा क्षति भएको, केन्द्रबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने गोगर– खिम्ती २२० के.भी. प्रशारणलाईनको सिंगटी स्थित चप्लेटीमा रहेको ४६ नम्बरको टावरमासमेत क्षति भएको थियो ।
बाढी– पहिरोका कारण उत्पादन पूर्ण रुपमा बन्द भएपछि असोजमा ८५ करोड ६ लाख ४७ हजार नौ सय ३० रुपैयाँ, कार्तिकमा करिब ७० करोड, मंसिरमा करिब ६५ करोड र पुषमा (आशंकी विद्युत् उत्पादन अघिसम्म) करिब ५० करोड नोक्सान भएको प्रमुख प्रबन्धक पूर्ण गोपाल रञ्जितले बताउनुु भयो ।
क्षति भएको केन्द्रको हेडवर्क कन्ट्रोल भवन तथा बालुवा थिग्राउने पोखरीलाई पुनर्निर्माण गरी विद्युत् केन्द्रलाई पूर्ण क्षमतामा (२०८१ असोज ११ र १२ गते भन्दा अगाडीकै अवस्थामा) सञ्चालन गर्न अझै १८/२० महिना लाग्ने रञ्जितले बताउनुु भयो । माघ महिनाबाट भने दैनिक चार घण्टा भने ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनसक्ने केन्द्रले जनाएको छ ।
केन्द्रले बाढी– पहिरोबाट भएको क्षतिको लागि राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई एक अरब ७९ करोड छ लाख ९६ हजार सात सय ८५ रुपैयाँ बिमा दावी पेश गरेको तर यसमा पुर्नमूल्याङ्कण पछि थपघट हुुनसक्ने केन्द्रको प्रमुख प्रबन्धक रञ्जितले बताउनुु भयो ।
प्रतिक्रिया राख्नुहोस्