तपाईँ सुन्दै हुनुहुन्छः

चेपाङ्ग र विपन्न हजार परिवारलाई सुधारिएको चुलो वितरण 

चितवन । चितवनका दुई वटा पालिकाका झण्डै एक हजार घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको छ । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका ९५० चेपाङ्ग तथा विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको हो ।

इम्प्याक्टले जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं १ का तीन वटा चेपाङ बस्तीका ६५० घरधुरी र रत्ननगरका ३०० घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । आजमात्रै रत्ननगर वडा नं ८ का चौधरी समुदायका ३२ घरधुरीलाई चुलो वितरण गरिएको उहाँले बताउनु भयो  । 

विपन्न समुदायका महिलाहरूको स्वास्थ्य  सुरक्षाको लागि चुलो वितरणलाई तीव्र पारिएको हो । सपना भिलेजले विपन्न समुदायलाई वितरण गर्नकै लागि उद्योग सञ्चालन गरी चुलो निर्माण गरेको छ । वातावरण संरक्षण र स्वास्थ्य सुरक्षा र खाना पकाउँदा दाउराको प्रयोग न्यूनीकरणका लागि सपना भिलेजले आफैले चुलो बनाएर वितरण गरेको हो ।

जिल्ला भित्रका दाउरामा खाना पकाउने अधिकांश विपन्न समुदायलाई चुलो वितरण गर्ने गरी उद्योग स्थापना गरी चुलो निर्माण गरिरहेको अध्यक्ष गिरीले बताउनु भयो  । ‘हामीले स्थानीय सरकारसँग सहकार्य गरेर काम गरेका छौँ, उहाँले भन्नुभयो, लक्षित समुदाय र आवश्यकताको आधारमा चुलो वितरण गरिरहेका छौँ ।’

‘दाउरामा आगो बालेर खाना पकाउँदा निस्किने धुवाले चेपाङ समुदायको स्वास्थ्य बिग्रिएको हामीले पाएका छौँ अध्यक्ष गिरीले भन्नुभयो,हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य जोगाउनु हो ।’

सपना भिलेजले चेपाङको जीवन स्तर उकास्न जीविकोपार्जन, विपन्न समुदायलाई आवास निर्माण, बालबालिकाको स्वास्थ्य परीक्षण तथा पौष्टिक आहार वितरण गरिरहेको छ । 

मङ्गलवार नै सपना भिलेज र रेवान सौराहाले रत्ननगर वडा नं १ निपनी स्थित ओमशान्ति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री समेत  प्रदान गरेको छ । दुई संस्थाको सहकार्यमा विपन्न समुदायका बालबालिकालाई वितरण गर्ने गरी चार हजार प्रति कापी आफैले छपाएर राखेको गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button