कर्मचारी आन्दोलनका कारण ओपिडी सेवा बन्द
नेपालगन्ज । तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले आजदेखि ओपिडी सेवा पूर्णरुपमा बन्द गरेका छन् ।
लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेर पूर्णरूपमा ओपिडी सेवा बन्द गरेका हुन् ।
पुस ३ र ४ गते दिउँसो १ बजेदेखि आधा दिन ओपिडी र शैक्षिक कार्यक्रमहरू आंशिक बन्द गरिएकोमा आजदेखि ओपिडी सेवा पूर्णरूपमा बन्द गरिएको आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले जानकारी दिनुभयो । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सात बुँदे मागपत्र राखेका थिए । आज कोहलपुरमा पत्रकार सम्मेलन गरेर थप आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको छ ।
कर्मचारीले उठाएका मागहरू पूरा गर्ने सवालमा अस्पताल प्रशासन सकारात्मक नदेखिएको भन्दै मङ्सिर २६ गतेबाट कर्मचारीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । मेडिकल कलेजका कर्मचारी आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाहमा असर परेको छ ।
नेपालगन्ज मेडिकल कलेजका तर्फबाट वार्ता टोलीका संयोजक श्यामकुमार शर्मा संस्था घाटामा चाहिरहेकाले अहिले नै कर्मचारीको तलब वृद्धि गर्ने माग पूरा गर्न सकिने अवस्था नरहेको बताउनुभयो । हाल नेपालगन्ज मेडिकल कलेजमा स्थायी, अस्थायी र करार गरेर करिब ११ सय कर्मचारी कार्यरत छन् ।
प्रतिक्रिया राख्नुहोस्