गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चार मन्त्री गुरुङको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक सङ्कटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर निकास दिँदै आएको बताउनुभएको छ ।
राइनास नगरपालिका–८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा ५१औँ अभिभावक दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्नुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “तपाईँहरूलाई धेरै भ्रम फैलाइएको छ होला, कि सरकार फेरिन्छ, भनेर । मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ ।”
उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री समय पूरा भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । गठबन्धन सरकारबीचको यो समझदारीमा तलमाथि नहुने उहाँले स्पष्ट पार्नुभयो ।
“हाम्रो यो गठबन्धनको सरकार तीनै वर्ष चल्छ”, मन्त्री गुरुङले भन्नुभयो, “विसं २०८४ को चुनाव सम्पन्न गरेर मात्रै यो सरकार आ–आफ्नो बाटो लाग्छ ।” नेपालमा अस्थिरता ल्याउन चाहने शक्तिहरूले सरकारको उद्देश्य बिथोल्न जनतामा भ्रम छर्दै गरेको बताउँदै उहाँले त्यस्ता भ्रममा नपरी वर्तमान सरकारप्रति विश्वस्त हुन जनतासमक्ष आग्रह गर्नुभयो ।
सबै पालिका र वडामा इन्टरनेट सुविधा र टेलिफोनको व्यवस्था पुर्याउने कार्य गर्दै सञ्चारमन्त्री गुरुङले पुराना कानुन र ऐन संशोधन गर्ने, सामाजिक सञ्जाल नियमन ऐन, साइबर सुरक्षा ऐन, शिक्षा ऐनलगायत थुप्रै नयाँ ऐन ल्याउन लागिएको समेत जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्