मुसुरो खेतीप्रति घट्दो आकर्षण, प्रवर्द्धनका लागि प्रयास तीव्र
बाँके । तराईका जिल्लाहरूमा मुसुरो खेती कम हुँदै गएपछि यसको प्रवर्द्धनका लागि विभिन्न प्रयास सुरु भएका छन्। पश्चिम तराईका बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा कृषकलाई मुसुरो खेतीतर्फ आकर्षित गर्न विभिन्न मञ्च गठन गरी काम अगाडि बढाइएको छ।

लुम्बिनी प्रदेश कृषि मन्त्रालय र यूएसएआईडीको पहल कार्यक्रममार्फत जिल्ला तथा पालिका स्तरमा मुसुरो बाली बहु सरोकार मञ्च गठन गरी किसानलाई प्रोत्साहित गरिँदैछ। हालै बर्दियाको गुलरियामा जिल्लास्तरीय मुसुरो बाली बहु सरोकार मञ्च गठन गरिएको छ। यस मञ्चमार्फत किसानलाई मुसुरो खेतीको प्राविधिक जानकारी र सहजीकरण गर्ने लक्ष्य राखिएको छ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालका अनुसार मधुवन र ठाकुर बाबा नगरपालिकामा पनि यस्ता मञ्च गठन भइसकेका छन्। यी मञ्चमा कृषक, कृषि व्यवसायी, सहकारी, र कृषि विकास कार्यालयका कर्मचारी लगायत सरोकारवालाहरूको प्रतिनिधित्व रहने गरेको छ।
पछिल्लो समय नेपालमा मुसुरो खेतीप्रति कृषकहरूको आकर्षण घट्दै गएको छ। तोरी र मकैजस्ता अन्य बालीको विकल्पमा किसानले मुसुरो खेती कम गरेका छन्। ढकालका अनुसार मुसुरो मात्र नभएर चना र केराउजस्ता अन्य कोसे बालीको उत्पादन पनि घट्दै गएको छ।
नेपालमा मुसुरोको उत्पादन घटेसँगै वार्षिक रूपमा करोडौँ रुपैयाँ बराबरको मुसुरो आयात भइरहेको छ। विगतमा नेपालबाट मुसुरो निर्यात हुने गरेकोमा हाल आयातमा निर्भर हुनुपरेको यूएसएआईडीका प्रतिनिधि सुरज खनालले जानकारी दिनुभयो।
बर्दियामा मुसुरो खेतीको सम्भावना भए पनि किसानहरूलाई प्रविधि र स्रोत(साधनको अभावले चुनौती थपिएको छ। गत वर्ष जिल्लामा ५,०७५ हेक्टरमा गरिएको मुसुरो खेतीबाट ५,५८३ मेट्रिक टन उत्पादन भएको थियो।
विशेषज्ञहरूका अनुसार मुसुरो खेतीलाई पुनः प्रवर्द्धन गर्न प्राविधिक ज्ञान, गुणस्तरीय बिउ, र समयमा मलको व्यवस्थापन गर्नुपर्छ। ‘मुसुरो खेतीका लागि हलोले गहिरो जोताइ उपयुक्त हुन्छ’ ढकालले भन्नुभयो। परिवर्तित जलवायु अनुकूल बिउ विकास गरेर व्यावसायिक उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने उनले जोड दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्