४ अर्ब ८१ करोडको लागतमा खानेपानी सुधार आयोजनाको निर्माण सम्पन्न
पोखरा । जापानी सहयोग नियोग (जाइका) को अनुदानमा पोखरामा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
४ अर्ब ८१ करोड ३० लाख रुपैयाँको लागतमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै एक समारोहबिच जापान सरकारबाट नेपाल सरकारलाई हस्तान्तरण समेत भएको हो ।
नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई उक्त परियोजना जाईका नेपाल प्रतिनिधि तानाको तोमोले हस्तान्तरण गर्नुभएको हो । पोखराको मुख्य बजारदेखि करिब ११ किलोमिटर टाढा रहेको मर्दीको पुरानै बाँधबाट पानी ल्याइएको नेपाल खानेपानी संस्थान पोखराका कार्यालयका प्रमुख ई. आशिस कार्कीले बताउनुभयो ।
उक्त परियोजनाबाट दैनिक ४ करोड १० लाख लिटर शुद्ध पानी पोखरामा उपलब्ध हुने नेपाल खानेपानी संस्थाका निमित्त महाप्रबन्धक त्रिदीप कुमार श्रेष्ठले बताउनुभयो । उक्त परियोजनाबाट पोखराका करिब ७३ प्रतिशत जनता अर्थात् ३ लाख ५० हजार जना लाभान्वित हुने मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य कर्माचार्यले बताउनुभयो ।
नेपाल खानेपानी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौँको आयोजनामा पोखरा १९ को पुरन्चौर (पानी प्रशोधन केन्द्र) मा आयोजना भएको समारोहमा तिनै तहका सरकारका प्रतिनिधि, स्थानीय सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उक्त परियोजना १५ फेब्रुअरी २०१७ मा सुरु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्