सिक्टा सिँचाइ आयोजना: मुआब्जा दिन रकम अभाव
नेपालगञ्ज । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाको काम सुस्त गतिमा छ ।
निर्माणको समयावधि लम्बिँदा लागत पनि त्यही अनुपातमा बढ्दै गएको छ । १९ बर्ष अघि सुरुवाती लागत ७ अर्ब रुपैयाँ रहेकोमा यो लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । तर, काम भने कछुवा गतिमा छ । सिक्टामा हालसम्म २३ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
सिक्टाको पानीबाट बाँकेमा अहिलेसम्म २० हजार २ सय हेक्टर जमिनमा सिँचाई पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट ४ हजार २ सय गरी २० हजार २ सय हेक्टर जमिनमा सिँचाई पुगेको सिक्टा सिँचाई आयोजनाले जनाएको छ । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६२/६३ देखि सिक्टा सिँचाई आयोजना निर्माण थालिएको थियो । आयोजना सुरु भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा मात्र सिँचाई पुग्न थालेको छ ।
तेस्रो पटक गुरुयोजना परिवर्तन गरेर आर्थिक वर्ष २०८९/९० मा आयोजना सक्ने लक्ष्य राखिएको छ । तर, सरकारले बजेट कटौती गर्दै गइरहेको छ भने पाएको बजेट पनि आयोजनाले खर्च गर्न सकेको अवस्था देखिँदैन । अर्कोतिर सरकारले आफैँ स्वीकृत गरेको गुरुयोजना अनुसार पनि आयोजनाले बजेट पाएको छैन । गुरुयोजना अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ९६ करोड रुपैयाँ पाउनुपर्ने आयोजनाले एक अर्ब ६० करोड मात्रै बजेट पाएको छ ।
कम बजेट विनियोजन भएका कारण आयोजनाले मुआब्जाको रकम भुक्तानी गर्न सकेको छैन । आयोजनाको पश्चिम मूल नहर अन्तर्गतका अकलघरुवा, पर्सेनीपुर, पेडारी, गुरुवा गाउँ शाखा र गोहवा उपशाखा नहर क्षेत्रमा अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जाका लागि ६० करोड रुपैयाँ आवश्यक भए पनि सरकारले २५ करोड मात्रै उपलब्ध गराएको आयोजनाले जनाएको छ ।
बाँकेमा अहिले ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । बाह्रैमास पानी सुविधा भएमा किसानले धान बाहेकका खेतीबाट पनि राम्रो आम्दानी गर्ने आशा गरिए पनि काम सुस्त भइरहेको छ । नहर भन्दा उँचो खेतमा पानी पुर्याउन आयोजनाले लिफ्ट सिँचाइको काम पनि अगाडि बढाएको छ । पश्चिमतिरको कचनापुर, ढकेरी र बालापुरको ३ सय १५ हेक्टर जमिनमा पानी पुर्याउन पाइलट प्रोजेक्टको रुपमा लिफ्ट प्रणालीबाट सिँचाई पुर्याउन काम अघि बढाइएको सिक्टा सिँचाई आयोजनाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्