तपाईँ सुन्दै हुनुहुन्छः

वडा अध्यक्षको लोभलाग्दो पहेँलपुर तोरी खेती

नवलपरासी,पश्चिम् । पहेँलपुर तोरीबारी अघि उभिएर वडा अध्यक्ष ध्रुब थारु भन्नुहुन्छ “म हिजो पनि कृषक थिए आज पनि छु र भोलि पनि म कृषक नै हो,जनप्रतिनिधि हुँदैमा मैले जे गरे त्यो छोड्नुपर्छ भन्ने होइन,म किसानको छोरा हुँ।

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ७ का अध्यक्ष ध्रुब थारुको कृषि प्रतिको मोह उहाँले लगाएको पहेँलपुर तोरीले प्रष्ट देखिन्छ ।बाबुबाजेको पालादेखी नै कृषि पेशा अङ्गाल्दै आउनु भएका वडा अध्यक्ष थारुले कृषिमै सम्भावना देखेर यतिबेला ९ बिघा क्षेत्रफलमा व्यावसायिक तोरी खेती गर्नु भएको छ ।

वडा अध्यक्ष थारु दोस्रो पटक निर्वाचित भएसँगै उहाँको यो दोस्रो कार्यकाल हो ।जनप्रतिनिधिको रुपमा जनताको सेवा सँगै समयको सदुपयोग गरि राजनीति सँगै कृषिमै रमाउँदै आउनु उहाँले धान खेती पछि तोरीमा सम्भावना देखेर तोरी छरेको बताउनु भयो ।

यो पटक धान पनि राम्रै उत्पादन गरेको र तोरी तर्फ आकर्षित भएको अध्यक्ष थारु बताउनुहुन्छ ।पहिलोपटक यति धेरै क्षेत्रफलमा तोरी छरेको र यो आफ्नालागि सिकाई पनि हुने उहाँको भनाई छ ।

आफ्नो तीन बिघा र बाकि ६ बिघा जगा भाडामा लिएर कुल ९ बिघामा उहाँले तोरी लगाउनु भएको हो।तोरीको बीउ ,मल र जोताई गरेर अहिले सम्म दुई लाख बढी खर्च भैसकेको र अब तोरी थन्क्याउने बेला सम्म थप एक लाख गरी तिनलाख खर्च हुने अध्यक्ष थारुको भनाई छ ।समय र मौसम प्रतिकुल नभए ६० क्विन्टल तोरी उत्पादन हुने उहाँको अनुमान रहेको छ ।तोरी सँगै उहाँले थप १ बिघा ४ कट्ठामामा गहुँ समेत छर्नु भएको छ ।

पछिल्लो समय युवापिढिहरु पलायन भइरहेको अवस्थामा गर्न सके नेपालमा कृषि क्षेत्रमा सम्भावना रहेकाले युवाहरू र आम किसानलाई व्यावसायिक खेती गर्न उहाँको सुझाव छ।

“अहिले नेपालमा केही सम्भावनानै छैन सबै खतम भयो भन्ने मात्रै छ,गर्न सके कृषिमै पनि राम्रो छ हाम्रा पुर्खाहरूको जागिर थिएन हामी यहाँ सम्म कृषि गरेरै आइयो त्यसैले सम्भावना नै नभएको होइन गरे यही पनि छ,चुनौती त सबै क्षेत्रमा छ नि “वडा अध्यक्ष थारुले भन्नू भयो ।

कृषि बाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरणका लागि पनि तोरी खेती गरेको उहाँको भनाई छ ।केही समय पछि ६ बिघामा मकै खेती गर्ने अध्यक्ष थारुको योजना छ ।यद्यपि नेपालमा समयमै बीउ बिजन मल पाउन सकस हुने गरेकाले स्थानीय तहले त्यसका लागि तिनै तहका सरकार सँग साझा पहल गर्नु पर्ने उहाँको धारणा छ ।राजनीति गर्नेहरूले अरूको प्रेरणाका लागि पनि कृषि गर्नु पर्ने र यसले आम किसानलाई प्रेरणा हुने उहाँको बुझाई छ ।

वडा अध्यक्ष थारुको लगन र परिश्रम देखेर मकै खेतीका लागि बर्दघाट नगरपालिकाले मकैको बीउ उपलब्ध गराउने नगरपालिकाका कृषि प्राविधिक ऋषि चन्द ठकुरीले बताउनु भयो ।बर्दघाट नगरपालिकाले उत्पादनका आधारमा सबै वडालाई बाली पकेट क्षेत्रको रुपमा बिकास गरि सोहीअनुरूप किसानलाई सहुलियत दर (लागत साझेदारी )मा बीउ बिजन उपलब्ध गराउँदै आएको ठकुरीले बताउनु भयो ।

पछिल्लो समय खेतीपातीमा लागत बढेको र समयमा मल बीउ बिजन उपलब्ध नहुने आम कृषकको गुनासो रहेको छ ।जिल्लामा अधिकांश क्षेत्रमा सिचाइको समेत व्यवस्था छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button