कार्यकारी निर्देशक लामाद्वारा गण्डकी प्रादेशिक प्रसारण कार्यालयको अवलोकन
पोखरा । सार्वजनिक प्रसारण संस्था, रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकीको अवलोकन गर्नुभएको छ ।
कार्यकारी निर्देशक लामाले आज प्रादेशिक कार्यालयको अवलोकन गर्दै कर्मचारीहरूसँग सुझाव समेत लिनुभएको छ ।
सो अवसरमा कार्यकारी निर्देशक लामाले सीमित श्रोत साधनका बाबजुद रेडियो नेपालको साख बचाउने गरी हरेक कर्मचारीले आफ्नो भूमिका प्रदर्शन गर्न निर्देशन दिनुभयो । उहाँले रेडियो नेपाललाई समय सापेक्ष डिजिटलाइजेसनमा लैजाने विषयमा गृहकार्य भइरहेको भन्नुहुँदै हाल सञ्चालनमा रहेका कार्यक्रम तथा समाचारलाई अझ प्रभावकारी ढंगले आम जनताको घर दैलोसम्म पुर्याउन सबै कर्मचारीको भूमिका हुने बताउनुभयो ।
कार्यकारी निर्देशक लामाले आफु पदमा रहँदासम्म रेडियो नेपालको हितको लागि राम्रा र असल काम गर्ने, राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई आवश्यक कारबाही समेत हुने बताउनुभयो । उहाँले सार्वजनिक प्रसारण संस्थाको मर्मअनुसार सङ्घीयताका आधारमा रेडियो नेपालको पुनर्संरचना अघि बढेको र आगामी दिनमा प्रसारण पहुँच र प्रसारण सुधार गर्दै लैजाने बताउनुभयो ।
रेडियो नेपालमा कार्यरत सबै तह र तप्काका कर्मचारीलाई समान व्यवहार गर्न सुझाव दिनुहुँदै कार्यकारी निर्देशक लामाले महिलामैत्री कार्यालय बनाउन गण्डकी प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख शान्ति गुरुङलाई आग्रह गर्नुभयो ।
कार्यकारी निर्देशक लामासहितको टोलीलाई प्रादेशिक कार्यालयमा कर्मचारीहरूले फूलमालाले स्वागत गर्नुभएको थियो ।
अवलोकनका क्रममा कार्यकारी निर्देशक लामासहित नायव कार्यकारी निर्देशक चन्द्रभूषण लाल दास, निर्देशक पुष्करराज गौतम र कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीलगायतकाे सहभागिता रहेको थियो।
सो अवसरमा कार्यकारी निर्देशक लामाले नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बुधबार पोखरामा सम्पन्न गण्डकी प्रदेशसँग समावेशी प्रसारण सम्बन्धमा मन्त्री गुरुङसँगको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यकारी निर्देशक लामासहितको टोलीलाई रेडियो नेपालको गण्डकी प्रादेशिक प्रसारण कार्यालयका प्रमुख शान्ति गुरुङले प्रादेशिक कार्यालयको बस्तुस्थितको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्