नेकपा (माओवादी केन्द्र) बाँकेले ८ वटै पालिकाको अधिवेशन एकैसाथ गर्ने
बाँके। नेकपा (माओवादी केन्द्र) बाँकेले जिल्लाका सबै ८ पालिकाको अधिवेशन मङ्सिर २९ र ३० गते एकैसाथ गर्ने निर्णय गरेको छ। नेपालगन्जस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले अधिवेशनको तयारीबारे जानकारी गराउनुभएको हो
पालिका स्तरका अधिवेशनका लागि नेताहरूको कार्य विभाजन गरिसकिएको छ। बैजनाथ गाउँपालिकामा पूर्णाकुमारी सुवेदी, राप्तीसोनारीमा कृष्णा के.सी । (नमुना), खजुरामा इन्द्रप्रसाद खरेल (आइपी) र डम्बरबहादुर वि.क. (तुफान), डुडुवामा प्रकाश सुवेदी (चन्द्रकान्त) र गेहराज शर्मा (नवीन), नरैनापुरमा नरेन्द्र न्यौपाने, जानकीमा अन्जना चौधरी, कोहलपुरमा उषा पुन र नरेन्द्र पाण्डे (जेम्स), तथा नेपालगन्ज उपमहानगरपालिकामा अक्कलबहादुर बम र डिल्ली बराललाई जिम्मेवारी तोकिएको छ।
अधिवेशन सफल बनाउन सम्बन्धित पालिकामा रहेका प्रदेश सदस्य, जिल्ला समन्वय समिति सदस्य, प्रदेश सल्लाहकार, र प्रदेश परिषद् सदस्यहरूको समेत कार्य विभाजन गरिएको संयोजक पाण्डेले बताउनुभयो। वडास्तरका ८१ वटै अधिवेशन सम्पन्न भइसकेको जानकारी दिँदै उहाँले मङ्सिर १५ सम्म पार्टी सदस्यता नवीकरण तथा लेवी अभिलेखीकरण गरिने र २५ गतेसम्म वडाबाट प्रतिनिधि छनोट गरी पालिका अधिवेशनमा जाने तयारी रहेको बताउनुभयो।
नेकपा (माओवादी केन्द्र)स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पूर्णाकुमारी सुवेदीले अधिवेशनले पार्टी रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पालिका अधिवेशनमा प्रत्यक्ष निर्वाचनमार्फत सदस्य र पदाधिकारी चयन गरिने जानकारी दिनुभएको छ।
सुवेदीले माओवादीको सरकार हुँदा भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायका क्षेत्रमा भएका कामले जनतामा पार्टीप्रतिको आकर्षण बढाएको दाबी गर्नुभयो। पछिल्लो समय माओवादीप्रति जनलहर बढ्दै गएको पनि उहाँले उल्लेख गर्नुभएको छ।
प्रतिक्रिया राख्नुहोस्