तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरका नागरिकले स्वास्थ्य उपचारमा ५० प्रतिशतसम्म छुट पाउने

चितवन । भरतपुर महानगर पालिकाका नागरिकले स्वास्थ्य उपचारमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी) बीच भरतपुरवासीको स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता भएको हो ।

आज भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र कलेजका निर्देशक प्रताप देवकोटाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

भरतपुर महानगरवासीले अस्पतालमा उपचार गर्दा होल बडी चेकअपमा ५० प्रतिशत, औषधि खरिदमा ७ प्रतिशत र अन्य उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ ।

यो सम्झौता मङ्सिर २ अर्थात् आजबाट लागू भई एक वर्षसम्म कायम रहनेछ । यस्तै नगर प्रमुखको सिफारिसमा सिएमसी क्यान्सर इन्ष्टीच्यूटमा सञ्चालित सिटिइभिटीको पढाइमा विद्यार्थीलाई १० प्रतिशत छुट व्यवस्था गरिएको छ ।

सम्झौतापछि बोल्दै नगर प्रमुख रेनु दाहालले नगरवासीलाई विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा छुटसहितको सम्झौता गरिएको स्पष्ट पार्नुभयो ।

प्रमुख दाहालले यसअघि अस्पतालमा हुने उपचारमा छुटका लागि धेरै सिफारिस आउने गरेको भन्दै अब यो सम्झौतासँगै सिधै छुट उपलब्ध भएसँगै बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

छुट सेवा लिनका लागि महानगरले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ । कार्ड उपलब्ध नभएसम्म महानगरपालिकाबाट सिफारिस लिएर जानुपर्ने छ ।

प्रथम पक्ष अर्थात् भरतपुरवासीले सिधै खरिद गरेका कुनै पनि सामानमा सम्झौता लागू नहुने र अस्पतालको आकस्मिक कक्ष एवं बहिरङ्ग टिकटमा समेत छुट गर्ने गरी सम्झौता भएको अस्पतालका अध्यक्ष हरिषचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button