सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सप्तरी । आगामी मङ्सिर १६ गते हुने उप निर्वाचनकालागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । उपनिर्वाचनका लागि डाक्नेश्वरीका वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
शुक्रबार एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत दीपक दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुभयो । डाक्नेश्वरी नगरपालिका कार्यालयको भवनमा यो कार्यालय स्थापना गरिएको छ ।
उप निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन मुख्य निर्वाचन अधिकृत दाहालले सबैसँग अनुरोध गर्नुभयो। उहाँले निष्पक्ष तरिकाले निर्वाचन हुने बताउनुहुँदै आचारसंहिताको पालना सबैले गर्नुपर्ने उल्लेख गर्नुभयो ।
यसैबीच मुख्य निर्वाचन अधिकृत दाहाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइरालासहितकाले जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मतदान केन्द्रहरूको निरीक्षण र अनुगमन समेत गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी दाहालले आम नागरिकलाई निर्धक्क रूपमा मतदान गर्ने वातावरण तयार गर्न शान्ति सुरक्षामा कुनै पनि कमी नहुने विश्वास ब्यक्त गर्नुभएको थियो । उहाँले निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको जानकारी गराउनुभएको थियो ।
निर्वाचनको सफल सञ्चालनका लागि सबै पक्षको सहकार्य र निगरानी आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्