मुलुक चिनाउने मेला बन्दै छ सिड्नीको नेपाल महोत्सव
काठमाडौँ । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको महत्त्वपूर्ण कर्मका रुपमा रहेको नेपाल महोत्सव आगामी नोभेम्बर २३ शनिबार सिड्नीको मुटु डार्लिङ हार्बरस्थित टुम्वोलङ पार्कमा आयोजना हुने भएको छ ।

नेपाल महोत्सव बिहान १० बजेबाट रातिको १० बजेसम्म चल्नेछ । नेपाल सरकारको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग विशेष सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धनको लागि विविध कार्यक्रमहरू महोत्सवमा झल्किने भएको छ।
कार्यक्रममा अस्ट्रेलियास्थित विविध पर्यटन र व्यवसायीक स्टलहरू रहनेछन् । यस्तै विविध नेपाली खानाका परिकारसहित दुई दर्जन बढी छुट्टाछुट्टै नेपाली परिकारका स्टल राखिने गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका गैर आवासीय नेपाली संघ एनएसडब्लु राज्य समितिले जनाएको छ।
कार्यक्रमको प्रचार प्रसारका लागि सिड्नी सहरको लिभरपुल स्ट्रिट,बाथर्स्ट स्ट्रिट फेस्टिभल सम्पन्न हुने डार्लिङ हार्वरको तुम्वोलङ्ग पार्क वरपर नेपाली झण्डा फहराइने भएको छ।
विशेषत नेपाल हाउस मार्फत समग्र नेपालको भूगोल, भौगोलिक परिचय (तराई, पहाड, हिमाल) लाई प्रस्तुत गर्ने गरि नेपाल र नेपालीसँग सम्बन्धित विभिन्न पर्यटकीय स्थल, धार्मिक स्थल, ऐतिहासिक स्थलको जानकारी तथा विविध भेषभुषा, कला, कृति, भाषा साहित्य एवम् राज्य व्यवस्थाको विभिन्न काल खण्डको परिचय र जानकारी प्रस्तुत गरिने छ । अस्ट्रेलियास्थित नेपाली व्यवसायीको विशेष व्यावसायिक स्टल र प्रदर्शनीसँगै यस पटक नेपाली ह्याण्डी क्राफ्टका उत्पादनहरू समेत महोत्सवका आकर्षण हुने छ।
कार्यक्रम सुरु हुनु अगाडि शनिबार बिहान साढे १० बजेबाट विशेष परेड र झाँकीमार्फत नेपालको कला संस्कृति झल्काउने गरी बाजागाजासहित शान्ति पद यात्रामार्फत सहर परिक्रमा गरिने कुरा अतिथि व्यवस्थापन समितिका संयोजक शीतल गिरीले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय स्तरका लोक, पप, रक स्टार एवं नेपाली चलचित्रका स्थापित कलाकार हरुको कलाकारिताको प्रदर्शन गरिने छ। कार्यक्रममा नेपालबाट आएका द एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुती रहनेछ । साथमा स्थानीय कलाकारहरूको विविध साङ्गीतिक कार्यक्रम समेटिनेछ । साथै विभिन्न भाषा, संस्कृति झल्काउने नृत्यहरू प्रदर्शन गरिने कार्यक्रम रहेको छ।
यस्तै दोस्रो पुस्ताका बाबु नानीहरूको विशेष सहभागिता गराउने र उनीहरूलाई पनि नेपालबाट आएका कलाकार जतिकै मञ्च दिने तयारी रहेको छ ।
कार्यक्रममा एनएसडब्लु राज्य समितिका प्रिमियर क्रिश मिन्सको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा ३० हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताउनुभयो । यस पटक सिड्नीको पर्यटकीय स्थलमा पुन महोत्सव हुने हुनाले सङ्ख्यात्मक रुपमा पनि विदेशीको उल्लेख्य सहभागिता रहने विश्वास गरिएको पोखरेलले सुनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्