नेपालगन्ज म्याराथन प्रि-इभेन्ट: ग्रीन रनको उपाधि विजय र विनिसालाई

नेपालगन्ज। बाँकेको खजुरामा आयोजित ‘गौघाट ग्रीन रन रोड रेस’ मा जनता नमूना माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि जित्नुभएको छ ।
पर्यावरणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ग्रीन रन आयोजना गरिएको हो ।
आज भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमूना माविका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय हुनुभयो । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीय हुनुभयो ।
धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ‘दश वर्षमा दश इभेन्ट’ अन्तर्गत प्रि-इभेन्टका रुपमा खजुराको गौघाटमा ग्रीन रन आयोजना गरिएको हो ।
दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई नगद पाँच हजार, तीन हजार र दुई हजार, ट्रलीले पुरस्कृत गरियो । लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री, समाजसेवी कृष्णमान श्रेष्ठ, वडा सदस्य लक्ष्य बहादुर ओली, नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषद्का सदस्य डिबी तामाङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो ।
जलवायु परिवर्तनका कारण पर्यावरणमा देखिएको विश्वव्यापी सङ्कटका बारेमा विद्यार्थीलाई दौडमार्फत जागरण फैलाउन दौड आयोजना गरिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिनुभयो ।
‘फिल द ग्रिन इन यु’ नारासहित भएको ग्रीन रनको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रत्न खत्रीले विद्यार्थीमाझ जान ग्रीन रन रचनात्मक कार्य भएको बताउँदै प्रदेश खेलकुद परिषद्ले फरक खालको दौड प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरी निरन्तरताको आधार तयार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपालगन्ज म्याराथनको दश वर्षमा दश इभेन्ट अन्तर्गत असोज ३ गते नेपालमा पहिलोपटक ‘रात्रि दौड नेपालगन्ज १० किलोमिटर’, ‘राप्तीसोनारी रन’ आयोजना गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्