तपाईँ सुन्दै हुनुहुन्छः

पोखराका ४ ठाउँमा छठ पर्व मनाउने तयारी 

पोखरा । सुन्दर नगरी पोखरामा यस वर्षको छठ पर्व विशेष गरी ४ ठाउँमा धुमधामका साथ मनाउने तयारी भएको छ । विशेष गरी तराई मधेसका समुदायलाई पोखराका विभिन्न स्थानमा छठ पर्व मनाउन सहज होस भन्ने उद्देश्यले यस बर्ष पोखराका ४ ठाउँमा हर्ष र उल्लासका साथ मनाउने तयारी गरिएको विभिन्न छठ पूजा समितिले जनाएको छ । 

पोखरामा आज भन्दा करिब २५ बर्ष अघि सुरु भएको पोखरा नदीपुरको नारायणथान मन्दिर परिसरबाट आज बिस्तार हुँदै ४ ठाउँसम्म व्यवस्थित र झकिझकाउका साथ छठ पर्व मनाउन थालिएको रामजी प्रसाद गुप्ताले बताउनु भयो । 

पोखरा लेकसाइड स्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनार र कमल पोखरी(भन्द्रकालि मन्दिर भन्दा तलको परिसर) मा छठ पूजा धुमधामका साथ मनाउन केही दिन देखि सरसफाई सहित झिलिमिली बक्तिले झकिझकाउ बनाइएको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताउनु भयो । 

छठ पूजा स्थलको मुख्य गेटमा फुलले सजावट सहित झिलिमिली बत्ती जडान देखि सूर्यका भत्तहरुको लागि बस्नको लागि टेन्टको समेत व्यवस्था गरिएको उहाँले जनाउनु भयो । सूर्यका भक्तहरूलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढङ्गबाट पूजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य चार ठाउँमा छठ पूजा समितिले सरसफाई देखि आन्तरिक व्यवस्थापनमा जुटेको हो । यस बर्ष पोखरा क्षेत्रमै धुमधामका साथ छठ पर्व मनाउन आन्तरिक तयारी सोमबार देखि रंगरोगन र टेण्ट हाल्ने काम भएको उहाँले जनाउनु भयो । 

नेपाल भारत व्यवसायी संघ (एन.बी.) छठ पूजा समितिको आयोजनामा हुने पूजालाई व्यवस्थित बनाउन केही दिन देखि केदारेश्वर क्षेत्रमा लागेको समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनु भयो । कार्तिक २२ गते अपराह्न साढे ३ बजेदेखि साँझ ७ बजेसम्म र २३ गते बिहान साढे ३ बजेदेखि बिहान ७ बजेसम्म छठपूजा हुने उहाँले बताउनु भयो । 

काम विशेषले तथा पेशा व्यवसायीको कारण तराई मधेस क्षेत्रका समुदायले मनाउने छठ पर्व पोखरामा विभिन्न स्थानमा धुमधामका साथ मनाउन थाले पछि अधिकांश छठका भक्तहरूले पोखरामा मनाउँदै आएको एन.बी. व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष भुनेस कुमारले बताउनु भयो । पोखरामा व्यवस्थित ढंगले उक्त पर्व मनाउन थालेसँगै आफूहरूलाई यहाँ यो पर्व मनाउन सहज भएको उहाँले जनाउनु भयो ।

स्वामी सदासु गिरीले पन्च तत्त्वको पूजा भएकोले छठ पूजाको विशेष महत्व भएको दाबी गर्नु भयो । मनोकाङ्क्षा पूरा हुने यस पर्व तराई मधेशमा यस पूजा विशेष हुने उहाँले जनाउनु भयो । निलकण्ठ महादेव आश्रम सेवा समिति (नारायणथान) का सचिव एवं पोखरा ३ का वडा सदस्य समेत रहेका सनकमान सिकेले पोखरामा पछिल्लो समयमा यो पर्व तराई मधेश मात्र नभई अन्य समुदायका व्यक्तिहरूले समेत मनाउन थालेको बताउनु भयो ।

यस वर्षको छठ पर्वको मुख्य दिन (षष्ठी) बिहीबार कार्तिक २२ गते परेको छ । सप्तमी कात्तिक २३ गते शुक्रबार सूर्यका भक्तहरूले उदाउँदो सूर्यलाई अर्घ दिने गर्नु हुन्छ । विभिन्न फलफूल, कन्दमुल, ठेकुवा, कसार लगायतका सामाग्रीको साथमा सूर्यका भक्तहरूले पूजा गर्ने गर्नुहुन्छ । बजारमा छठ पूजाका सामाग्रीहरू किन्नेहरूको उत्साहजनक रुपमा सहभागिता रहेको एक व्यवसायी रोविन गुप्ताले बताउनु भयो । छठ पूजाको चतुर्थी (मङ्गलवार) का दिन नुहाउने र चोखो खाने गर्नु भएको सूर्यका भक्तले आज (बुधबार) पञ्चमीमा दिनभर व्रत बस्ने (खड्ना) र राति पूजा गर्ने गर्नु हुन्छ । 

छठका भक्तहरूले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफूलका वोटहरु सजावट गर्ने गर्नु हुन्छ । सूर्यलाई भगवानको प्रतिको रुपमा पूजा गर्ने भक्तहरूले आफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वासका साथ पूजा गर्ने गरेको पण्डित निर्मल पौडेलले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button