तपाईँ सुन्दै हुनुहुन्छः

छठ घाटहरूमा व्रतालु तथा भक्तजनहरूको सुरक्षामा कुनै त्रुटि हुन नदिने प्रतिबद्धता 

वीरगंज । पर्सा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले वीरगंजसहित जिल्लाको विभिन्न छठ घाटहरूमा व्रतालु तथा भक्तजनहरूको सुरक्षामा कुनै त्रुटि हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।  

छठ पूजाका लागि देशभरमै प्रसिद्धी कमाएको वीरगन्जको घडीअर्वा पोखरी छठघाटमा मात्रै यसपटक छठ पूजा र दर्शनका लागि १ लाख ५० हजार बढी भक्तजनहरू पुग्ने अनुमान गरिएको छ । 

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आज सुरक्षा निकायका प्रमुखहरूसँग आयोजना गरेको बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले छठघाटमा सुरक्षाका सवालमा कुनै त्रुटि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

बैठकमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठ घाटको सुरक्षाको रणनीति तय गर्ने र त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गर्ने बताउनुभयो । 

घडिअर्वा छठघाटमा लाखौँ भक्तजनहरूको आगमन हुने भएकाले भीड व्यवस्थापन, सम्भावित दुर्घटनाको जोखिम टार्न लगायतका सुरक्षाको चुनौती रहने भएकाले यसप्रति प्रहरी प्रशासन गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।  

बैठकमा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आयोजक समितिका स्वंयसेवकसंग मिलेर नेपाल प्रहरीले छठ घाटको सुरक्षामा काम गर्ने बताउनुभयो ।  

यस्तै पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले पनि छठ घाटको सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी परिचालन गरिने बताउनुभयो । पोखरीको जलाशय ठूलो भएका कारण मोटरेबल बोटसहितको टोली पनि खटाइने जानकारी दिँदै उहाँले सशस्त्र प्रहरी बलका महिला सुरक्षाकर्मीमनि परिचालन गरिने जानकारी दिनुभयो । 

बैठकमा घडिअर्वा छठपूजा व्यवस्थापन समितिको सुरक्षा उपसमितिका संयोजक मनोहर साहले छठ घाट परिसर भित्र र बाहिर गरी २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको बताउनुभयो ।

घडिअर्वा छठ पूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिका संयोजक मनोहर साहको अध्यक्षतामा भएको बैठकमा वीरगन्जस्थित नेपाली सेनाको श्रीजँग गणका गणपति कर्णेल निराजन कटुवाल ,राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत ललितानारायण चौधरी, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट,वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई , लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button