तिहारको लागि सयपत्री फूलको व्यापार सुरु, प्लास्टिकका फूल विस्थापन
मुगु । हिन्दू धर्मावलम्बीहरूले मनाउने महान् पर्व भाइटीकाको रौनक मुगु जिल्लाको गमगढी बजारमा पनि देखिएको छ। तिहार पर्वलाई ध्यानमा राख्दै यहाँका किसानहरूले सयपत्री फूलको व्यापारलाई विशेष रूपमा अघि बढाएका छन्। गत वर्षबाट मुगुका किसानहरूले तिहारका लागि सयपत्री फूलको बिक्री व्यापक रूपमा सुरु गरेका हुन्।

गाउँका किसानहरूले आफ्नै खेतबारीमा उत्पादन गरेका सयपत्री फूलहरू डोकोमा राखेर गमगढी बजारमा ल्याएर बिक्री गरिरहेका छन्। यो फूल विशेष गरेर तिहारमा देउसी/भैलो, पूजा, घर सजावट र भाइटीकाको दिनका लागि प्रयोग गरिन्छ। यसरी परम्परागत रूपमा डोकोमा फूल बोक्ने र बजारमा बिक्री गर्ने क्रम अहिले पनि जीवित छ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले गत वर्ष देखि नगर क्षेत्रमा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएका छन् । यसले गर्दा प्राकृतिक सयपत्री फूलको माग बढेको छ, जसले बजारमा रहेका प्लास्टिकका फूलहरूलाई विस्थापित गरिरहेको छ। वातावरणमैत्री सोचका साथ प्राकृतिक फूलको प्रयोगले गाउँका किसानलाई पनि आर्थिक रूपमा सहयोग पुर्याएको छ।

तिहार जस्ता पर्वमा स्वदेशी उत्पादनको प्राथमिकताले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पारेको छ। मुगुका किसानहरूको यस प्रकारको प्रयासले धार्मिक पर्वमा मौलिकता र स्वदेशी उत्पादनको महत्त्वलाई पनि प्रस्ट पारेको छ।

यसै गरि मुगुमा प्राकृतिक फुलको उत्पादनलाई प्रोत्साहन गर्नको लागि छायाँनाथ रारा नगरपालिका वडा नं १२ भिताड ले सय पत्री फुल उत्पादन गरेको छ । हाल उत्पादित फुल बेच्ने काम भइराखेको र यस बापत आएको पैसाले जेष्ट र वृद्ध नागरिकलाई यस जाडो मौसममा न्यानो कपडा वितरण गर्ने लक्ष रहेको वडा सचिव हिमबहादुर बडूवालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्