रामपुरमा नेवा: समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै

पाल्पा । कात्तिक: पाल्पाको रामपुर नगरपालिकामा नेवा: समुदायको सांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु भएको छ । नेवारी समुदायको कला संस्कृतिको जगेर्ना गर्न नेवा: समाज रामपुर पाल्पाले भवन निर्माणको थालनी गरेको हो ।
रामपुर नगरपालिका–४ स्थित गैराबारीमा करिब एक रोपनी क्षेत्रफलमा तीनतले भवनसहितको सङ्ग्रहालय निर्माण सुरु गरिएको नेवा: समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले बताउनुभयो । नयाँ पुस्तालाई पुराना मौलिक कला संस्कृतिबारे अवगत गराउन सङ्ग्रहालय बनाउन थालिएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।
सङ्ग्रहालय निर्माणका लागि सङ्घीय र प्रदेश सरकारबाट रकम विनियोजन भएको छ । दुई चरणमा गरेर संरचना निर्माणको काम सक्ने योजनाका साथ निर्माणको काम अघि बढाइएको छ ।
पहिलो चरणमा सङ्घीय सरकारबाट विनियोजन भएको रु १८ लाख र जनश्रमदान गरी रु २१ लाख १७ हजार चार सय ९६ बराबरको रकमबाट भवन निर्माण हुनेछ भने दोस्रो चरणमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित रु २५ लाखको काम ठेक्काबाट हुने नेवा: समाजका सचिव विमल श्रेष्ठले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रु ४६ लाख १७ हजार चार सय ९६ बराबरको रकमबाट काम हुने बताइएको छ ।
परम्परागत रुपमा चलनचल्तीमा आएका कला, संस्कृतिलाई लोप हुन नदिन नेवा: समाजले गरेको यस कार्यले नयाँ पुस्ताले आफ्नो संस्कृतिबारे धेरै जानकारी पाउनेछन् ।
यहाँ निर्माण हुन लागेको सङ्ग्रहालयमा नेवार समुदायको मात्र नभई अन्य जातजाति, समुदायमा प्रचलित संस्कृतिलाई समावेश गरेर राख्ने समाजले जनाएको छ । पहिलो तलामा सभाहल, दोस्रो तलामा सङ्ग्रहालय र तेस्रो तलामा कार्यालय भवन रहनेछ ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालयले रामपुरको सांस्कृतिक पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।
भवनको शिलान्यास प्रदेशसभा सदस्य श्रेष्ठले गर्नुभएको हो । रामपुरमा रहेका नेवा: समुदायले आफ्नो मौलिक संस्कृति जोगाउने अभियानमा जुटेको छ । यस आयोजनाबाट सात सय जना लाभान्वित हुने समाजले जनाएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्