तपाईँ सुन्दै हुनुहुन्छः

चितवनबाट सयपत्री फूल हङ्गकङ्ग निर्यात

चितवन । तिहार नजिकै गर्दा चितवनमा सयपत्री फूल तथा मालाको निर्यात गर्न शुरु गरिएको छ । गत वर्ष पनि हङ्गकङ्ग निर्यात गरेको फूलमाला फार्म नेपालले यस वर्ष पनि हङ्गकङ्ग र लण्डन फूल र माला निर्यात गर्न थालेको हो ।

फार्मका सञ्चालक गोविन्द बास्तोलाले सोमबार फूल र माला हङ्गकङ्ग पठाउन लागिएको जानकारी दिनुभयो । ‘आज दिनभर ५० जना श्रमिकले फूल टिप्ने र माला गाँस्ने गर्नुभयो, बेलुका प्याकेजिङ्ग गरेर काठमाडौँ कार्गोमा पठाउँछौ ।’ बास्तोलाले भन्नुभयो । नेपाली मालाको माग विदेशमा उच्च रहेको र गुणस्तरीय भएकोले यस वर्ष पनि अर्डर आएको बास्तोलाले बताउनुभयो ।

केही दिन अघि मखमली मालाको एक हजार थान र सयपत्रीको माला दुई सय थान लण्डन पठाइएको र त्यहाँबाट पनि थप माला अर्डर आएको उहाँको भनाई छ । गत वर्ष मालाको उत्पादन राम्रो हुँदा पनि माग कम भएकाले फूल खेर फाल्नुपरेको थियो । तर यो वर्ष फूल खेतीको क्षेत्रफल नै कम र माग उच्च हुँदा फूलको अभाव र केही महँगो पनि हुने व्यवसायीले बताएका छन् ।

बास्तोलाले ४ विघा भन्दा बढी क्षेत्रफलमा फूल खेती गरे पनि उत्पादन भने तीन गुणा घटेको उहाँले बताउनुभयो ।

फ्लोरिचकल्चर एसोसिएसन नेपाल चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाले यस वर्ष फूलको उत्पादन क्षेत्र घटेको र फूल अभाव हुने देखिएकोले अन्य किसानको फूल बाहिर पठाउन नसकिएको बताउनुभयो ।

चितवनमा यस वर्ष करिब ४० विघा क्षेत्रफलमा करिब ३ लाख थान बढी सयपत्री माला हुने फूल खेती गरिएको एसोसिएसनले जनाएको छ ।

यस वर्षबाट प्रतिमाला खुद्रा मूल्य सय रुपैयाँ निर्धारण गरिएको एसोसिएसनले जनाएको छ । एशोसियसनका अनुसार सयपत्री फूल प्रतिकिलो ४ सयदेखि ४ सय पचास कायम गरिएको छ ।

जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गर्दै आएका छन् ।

फ्लोरिकल्चर एसोसिएसन चितवनले विदेशी उत्पादनलाई भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय तथा ७ वटा पालिकालाई पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button