तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण नियमावली कर्मचारीकै सल्लाह र सुझावमा बनाइन्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले निकट भविष्यमा सार्वजनिक सेवा प्रसारण संस्था गठन हुँदा रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीहरूलाई अन्याय नहुने स्पष्ट पार्नुभएको छ । 

नेपाल टेलिभिजन कर्मचारी युनियनले दशै तिहार, नेपाल सम्वत् र छठ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुरुङले मुलुकको गौरवमय इतिहास बोकेको रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक संस्थाका रुपमा परिणत गरिँदा यी दुई संस्था थप परिपक्व, क्षमतावान् र प्रतिस्पर्धी हुनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री गुरुङले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन एनटिभी वल्डको आवश्यकता भएको बताउँदै यो सरकारले छिट्टै नै अन्तर्राष्ट्रिय प्रसारण च्यानल सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो । 

शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजनका सम्पूर्ण कर्मचारीहरूका सल्लाह सुझावकै आधारमा सार्वजनिक सेवा प्रसारण नियमावली बनाइने जानकारी दिनुभयो ।  

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले मुकुले छिट्टै नै सार्वजनिक प्रसारण संस्था पाउनु गौरवको विषय भएको उल्लेख गर्दै दुवै संस्थाका कर्मचारीको सुव्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । 

यस अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाह, सार्वजनिक संस्थान कर्मचारी सङ्गठन नेपालका अध्यक्ष इन्दु आचार्य, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपाल दाहाल, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भाेज बहादुर विक र नेपाल टेलिभिजन प्रेस युनियनका अध्यक्ष ममता कोइरालालगायतले शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button