लुम्बिनीमा आगामी वर्ष सडक आश्रित मानवमुक्त घोषणा गर्ने गरी कार्यक्रम अघि बढाउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्षमा सडक आश्रित मानवमुक्त घोषणा गर्ने गरी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्बोधन गरेको जानकारी दिनुहुँदै मुख्यमन्त्री आचार्यले आगामी बर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त घोषणा गर्ने गरी कार्यक्रम अघि बढाउने बताउनुभयो ।
मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार स्वागत गर्दै मुख्यमन्त्री आचार्यले मानव भएर मानवको हिसाबले बाच्न पाउने वातावरण सुनिश्चित गरिने बताउनुभयो । “यहाँहरूले थालेको अभियानमा प्रदेश सरकारको साथ सहयोग छ । मानव भएर मानवको हिसाबले बाच्न पाउनुपर्छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकार साझेदारी रुपमा यो अभियानमा जोडिन चाहन्छ । हामी आउने बर्ष लुम्बिनी प्रदेशका सडकमा बास बस्ने मानिस नरहने गरी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरेर अघि बढ्छौँ ।”
उहाँले लुम्बिनी प्रदेशभित्र रहेका मानव सेवा आश्रमको विवरण र त्यहाँ आश्रितहरूको विवरण सङ्कलन गरिने समेत जानकारी दिनुभयो ।

असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएपछि २७ गते झापाको मेची पुलबाट सुरु भएको उद्धार टोली १३ औँ दिनमा लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आइपुगेको छ। अभियानको क्रममा एक सय २८ सडक आश्रित मानवको उद्धार गरिएको छ ।
लुम्बिनी प्रदेशका जिल्लाहरूबाट हालसम्म २८ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन् । मेची महाकाली यात्रामा रहेको उद्धार टोलीमा सहभागीहरूलाई मुख्यमन्त्री आचार्यले स्वागत सम्मान गर्नुभयो । सो अवसरमा आचार्यले टोलीमा सहभागी आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष तथा चर्चित गायक आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई मायाको चिनो प्रदान गर्नुभयो । स्वागत कार्यक्रममा प्रमुख सचिव महादेव पन्थ, सचिवहरू कृष्ण पौडेल, ईश्वरराज पौडेलको समेत सहभागिता हुनुहुन्थ्यो ।
सडक पेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ । यात्रामा ५० जना यात्री अर्थात् उद्धारकर्मीहरू रहेका छन् । मानव सेवा आश्रमको ७ वटा प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालनमा छन् । पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ७ सय ५८ जनाको उद्धार भएको थियो भने अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ३ सय ४ जनाको उद्धार भएको थियो ।
यो उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । मानव सेवा आश्रमले आउँदो वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडक पेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश निर्माण गर्ने सङ्कल्प गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्