वर्षाले रवि–राँके सडक र तमोर करिडोर अवरुद्ध
धनकुटा । लगातारको वर्षाको कारण पहिरो जाँदा भेडेटार–रवि–राँके सडक र तमोर करिडोर अवरुद्ध भएका छन् ।
दुई दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण पहिरो खसेर सडकमा थुप्रिएपछि र खोलामा बाढी आउँदा ती सडक अवरुद्ध बनेका हुन् ।
चौबिसे गाउँपालिकास्थित सौर्यमा सडकमा ठूलो ढुङ्गा खसेर तथा साँगुरीगढी गाउँपालिकाको डाँडा बजारमा पहिरोका कारण भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको हो । जसले गर्दा चौबिसे गाउँपालिकाका विभिन्न स्थानबाट धनकुटा र तराई क्षेत्रमा जाने सवारी साधनहरू बीचैमा रोकिएका छन् । भेडेटारदेखि पाँचथरको रविसम्मको १०३ किमी लम्बाइको उक्त सडक भएर दैनिक दर्जनौँ सवारी साधन सञ्चालन हुने गरेका छन् ।
यस्तै निरन्तरको वर्षाका कारण नावा खोलामा बाढी आएसँगै बिहीबार (हिजो) बिहानैदेखि अवरुद्ध बनेको तमोर करिडोर सडकको धनकुटा–पाँचथर खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।
धनकुटा र पाँचथरलाई सिमाना छुट्याएर बग्ने नावा खोलामा बिहीबार (हिजो) बिहानैदेखि पानीका बहाव बढ्दा धरान–विराटनगर ओहोरदोहोर गर्ने सवारी साधनसँगै यात्रु अलपत्र परेका हुन् । तमोर करिडोरमा पर्ने नावा खोलासँगै छरुवा र रगुवा गरी तीन वटा खोलामा पुल बनेका छैनन् ।
अन्य खोलामा यातायात चलिरहे पनि नावा खोलाबाट बिहानैदेखि सवारी साधन वारपार हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धरान र विराटनगरबाट पाँचथर र ताप्लेजुङ आउजाउ गर्न छोटो दूरी हुने भएकाले यात्रुले यो सडक उपयोग गर्दै आएका छन् ।
निरन्तरको वर्षाका कारण दुवै सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्