बिना कारण कुनै पनि फाइल रोकिँदैन : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्रालय अन्तर्गतका ठेक्काहरू असोज महिनासम्म लगाइसक्ने योजनाका साथ अगाडी बढेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा जवाफ दिनुहुँदै मन्त्री दाहालले यसवर्ष आयोजनाहरूका लागि विनियोजन भएको रकम ती आयोजनाहरूको अवस्था हेरेर काम अगाडी बढाउने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले सडक, पुललगायतका पूर्वाधारमा क्षति पुर्याएको भन्दै सडक सुचारु गर्न पहल गर्ने, वैकल्पिक सडक प्रयोग गर्ने, बेलीब्रिज निर्माण गर्ने लगायतका काम भइरहेको बताउनुभयो ।
मन्त्री दाहालले कमला नदीको पुल भासिएको विषयमा संसद्मा प्रश्न उठेको भन्दै ठेकेदार कम्पनी र बीमा कम्पनी बीचको विवादका कारण समयमा पुल निर्माण हुन नसकेको बताउनुभयो ।
उहाँले अरनिको राजमार्गमा बाढीले पुल बगाएपछि चीनबाट सामान आयातमा समस्या देखिइरहेको अवस्थामा बेलीब्रिज निर्माणका लागि पहल भइरहेको बताउनुभयो ।
मन्त्री दाहालले ठेक्का लागेर समयमा निर्माण हुन नसकेका आयोजनाबारे विस्तृत जानकारी लिने भन्दै रुग्ण ठेक्का भएका र क्रोनिक भएका आयोजनाहरूको अध्ययन गरी प्रतिवेदन तयार गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।
यस्तै मन्त्री दाहालले कुनै पनि फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विना कारण नरोकिने समेत बैठकमा स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्