तपाईँ सुन्दै हुनुहुन्छः

थामे विस्थापितलाई उचित स्थानमा राख्न/राहतको व्यवस्था गर्न सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले सोलुखुम्बु जिल्लाको पासाङल्हामुु गाउँपालिका थामेमा आएको बाढीबाट भएको जनधनको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ताको खोजीका लागि आग्रह गर्नुभएको छ ।  

सांसदहरूले बाढीका कारण विस्थापित भएकाहरूलाई उचित स्थानमा राख्न र राहतको व्यवस्था गर्न  तथा जोखिममा रहेका बस्ती स्थानान्तरण गरी सुरक्षित स्थानमा लैजान सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

सांसदहरुले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने, प्राकृतिक संरचनाहरूमा परिवर्तनदेखिने जस्ता  समस्या उत्पन्न भइरहेको भन्दै त्यसतर्फ समयमा नै गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । 

सांसदहरु जयन्तीदेवी राई, कृष्णबहादुर रोकाया, रुक्मिणी कोइराला, गोपीबहादुर अछामीले बैठकको आकस्मिक समयमा कमजोर भौगोलिक संरचना रहेका स्थानहरूमा बाढी पहिरो लगायतका जोखिम बढी रहने भएकाले जोखिमयुक्त स्थानका बासिन्दाको सुरक्षाका लागि सरकारले समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो ।

यसैगरी बैठकको विशेष समयमा सांसदहरुले हिताल फुटेर थामे क्षेत्रमा आएको बाढीबाट थामे स्कुल, क्लिनिक, छात्रावास र १३ घरमा पूर्ण रुपमा क्षति भएको तथा ४१ घर बस्न योग्य नभएको, १० घरमा आंशिक क्षति पुगेको र १ जना बेपत्ता भएको तथ्याङ्क आएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उक्त क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार सेवा अवरुद्ध रहेको, सगरमाथा जोड्ने सडकखण्ड अवरुद्ध भएको लगायतका विषयमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button