तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री अधिकारी र राजदूत चेन सोङ्गवीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्ग वीच बिहीबार सिहंदरवार स्थित मन्त्रालयमा भेटवार्ता भएको छ ।

राजदूत चेन सोङ्ग र मन्त्री अधिकारी वीच भएको छलफलमा नेपालबाट भइरहेको र हुन सक्ने कृषि उपज र मासुजन्य वस्तुको निर्यातलाई सहजीकरण गरिदिन मन्त्री अधिकारीले राजदूत सोङ्गलाई आग्रह गर्नुभयो । नेपालबाट चीनमा थर्मल प्रशोधित भैँसीको मासु निर्यात गर्नको लागि चीनको भन्सार प्रशासनसँग आवश्यक समन्वय भएको उल्लेख गर्दे मन्त्री अधिकारीले त्यस सम्बन्धी प्रोटोकल नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई चिनिया पक्षमा पठाई सकिएकाले त्यस प्रोटोकलमा हस्ताक्षर गर्न तथा कार्यान्वयन गर्न राजदूतबाट विशेष पहल हुने अपेक्षा व्यक्त गर्नुभयो ।

मन्त्रालयले औषधिजन्य वनस्पति निर्यातको लागि चीनको भन्सार प्रशासनसँग समन्वय भएको र याक तथा चौरीको नश्ल सुधार तथा मूल्य श्रृखँला प्रवर्द्धन गर्नको लागि चीन सरकारसँग अनुरोध गरिएको जनाएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएको हुनाले चीनको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुने अपेक्षा लिएको बताउनुभयो ।

दुई देश बिच भएको विभिन्न समझदारी र अन्य विषयहरूमा संयुक्त कृषि कार्यदलको बैठक आयोजना गरी थप प्रभावकारी कार्यान्वयन गर्न सकिने आशा मन्त्री अधिकारीले राजदूत सोङ्ग समक्ष व्यक्त गर्नुभयो ।भेटवार्ताका क्रममा राजदूत सोङ्गले कृषि क्षेत्रमा चीनले ठुलो उपलब्धी हासिल गरेको चर्चा गर्दे नेपाल सरकाले विशेष गरि कृषि क्षेत्रको उत्थानका लागि चालेको कदममा चीनको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

च्याउको खेतीबाट चीनको गरिबी घटाउन सहयोग पुगेको भन्दै राजदूत सोङ्गले मन्त्रालय समक्ष आफ्नो तर्फवाट राखेको यस्तै प्रस्ताव स्वीकृत भए यसका लागि चीन सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो । राजदूत सोङ्गले च्याउ खेती मार्फत गरिबी उत्थानमा सहयोग पुग्ने चिनियाँ प्रस्ताव मन्त्री अधिकारी समक्ष हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button