नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्याए : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताउनुभएको छ ।
संसद्का दुई ठुला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेस एक थान सरकार बनाउने उद्देश्यले मात्र समझदारीमा पुगेको नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट गर्नुभयो ।
नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्याएको बताउनुभयो । उहाँले समाज अगाडि बढाउने सन्दर्भमा देखिएका र अनुभव गरिएका संवैधानिक तथा कानुनी अप्ठ्यारा हटाउन संविधान र कानुन संशोधन समेत गर्ने सहमति गरिएको स्पष्ट गर्नुभयो ।
महासचिव पोखरेलले जनताको बहुदलीय जनवाद (जबज)को औचित्य समाप्त भयो भन्नु गलत भएको बताउनुभएको छ । महासचिव पोखरेलले मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजले राजनीतिक क्रान्तिपछिको बाटो पनि स्पष्ट रूपमा देखाइदिएको बताउनुभयो । महासचिव पोखरेलले २०६२/०६३ को राजनीतिक सफलतापछिको भविष्यको बाटो पनि जबजले देखाएको छ भन्ने कुरामा स्पष्ट हुन र जबजको औचित्यका बारेमा अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपालको राजनीतिक परिवर्तन अन्य मुलुकको जस्तो नभई नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू मिलेर गरिएको परिवर्तन भएकाले मार्क्सवादको प्रयोग पनि देशको विशेषताका आधारमा लागू हुन्छ भन्ने मान्यतामा जबजको विकास गरिएको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो । उहाँले समाज बदल्ने कुरा नै राजनीतिक अभिष्ट हो भन्ने कुरा पार्टीका सबै नेता कार्यकर्ताको मनमा लाग्नुपर्ने र आत्मविश्वासका साथ आफ्नो क्षमता पूर्ण रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले यही साउन १० देखि १५ गतेसम्म पार्टी स्कुल विभागको व्यवस्थापनमा दुई समूहमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र पालिका कमिटीका पदाधिकारीलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटव्यूरो सदस्यहरू आनन्द पोखरेल, ईश्वरी रिजाल, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरू वाईपी आचार्य, प्रा. डा. तत्त्वप्रसाद तिमिल्सिना, रामशरण प्याकुरेल लगायत विषय विज्ञहरूले प्रशिक्षण दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्