देश र आफ्नो क्षेत्रको विकासका लागि आफैँ अग्रसर हुनुपर्छ : उपसभापति खड्का
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश र आफ्नो क्षेत्रको विकासका लागि अरूबाट अपेक्षा गर्नुभन्दा आफैँ अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
हिन्दू नारीहरूको पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीत ‘नाचिदेऊ कान्छी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले कर्णाली प्रदेशको विकासका लागि त्यहाँकै सरोकारवाला अग्रसर हुनुपर्ने बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशकै सर्जकहरूको हातेमालो र एकताले गीत बनाउन सफल भएजस्तै अन्य क्षेत्रको विकासका लागि पनि यस्तै सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । गीत सङ्गीत पनि समाज विकासको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुहुँदै उहाँले प्रस्तुत गीतसँग जोडिएका सबै सर्जकहरूको प्रशंसा गर्नुभयो ।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली संस्कृतिको धनी रहेको बताउनुभयो ।
गीतका रचनाकार डा महेन्द्रकुमार मल्लले मौलिक गीत तयार गर्ने कोसिस गरेको बताउनुभयो । रचनाकार डा मल्लले आगामी दिनमा फरक सन्दर्भका गीतमार्फत शब्द रचनालाई निरन्तरता दिने बताउनुभयो ।
गीतमा शिव सङ्गीतले स्वरसँगै सङ्गीत भर्नुभएको छ भने गायनमा गायिका सिम्रन परियारले साथ दिनुभएको छ । जीवनकुमार ज्ञवालीले तयार गर्नुभएको गीतको श्रव्य दृश्यमा मोडल विपाशा चदराले अभिनय गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्