तपाईँ सुन्दै हुनुहुन्छः

सिमलताल पहिरो : खोजीका लागि भारतीय टोली परिचालन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली परिचालन भएको छ ।

भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आजबाट खोजतलासका लागि घटनास्थल पुगेको हो ।

खोजतलासमा परिचालित हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित त्यहाँका सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो ।

छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेको बताउनुभयो ।

टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गरेको उहाँले बताउनुभयो ।

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गौर जाँदै गरेको बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ बेपत्ता भएका थिए ।

आजसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएका छन् । अझै ३७ यात्रुको दुई वटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button