तपाईँ सुन्दै हुनुहुन्छः

‘एमाले–कांग्रेस समीकरण देशको अवस्था सुधार्न र निराशा चिर्न’

भक्तपुर । सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले–कांग्रेस समीकरण देशको अवस्था सुधार्न र जनतामा विद्यमान निराशा चिर्न भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उपमहासचिव ज्ञवालीले नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभएको बताउनुभयो ।

उहाँले मुलुकको समग्र विकास र जनतामा विद्यमान निराशा चिर्न दृढ राजनीतिक सङ्कल्प बोकेर नयाँ सरकार बनेको बताउनुभयो ।

लोकतन्त्र संसदीय अङ्कगणितले मात्र जोगिने होइन भन्दै उहाँले लोकतन्त्रले जनतालाई सही र ठिक ढंगले डेलिभरी दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

उपमहासचिव ज्ञवालीले नयाँ सरकार बन्नसाथ पुँजी बजारमा सकारात्मक असर परेको देख्न थालिएको र बिस्तारै समाजको हरेक अङ्गमा सकारात्मकताको सन्देश बिस्तार हुँदै जान थालेको बताउनुभयो ।

दुई पटकसम्म संशोधित संविधानमा अब फेरि आवश्यक संशोधन भएको खण्डमा संविधानमा संशोधन गर्दा पश्चगमन नहुने बताउँदै ज्ञवालीले संविधानमा आवश्यक संशोधन गर्ने प्रयत्न गर्दा पश्चगमन हुने भयो भनेर भाष्य निर्माण गर्नु केवल राजनीतिक प्रचारबाजी भएको उल्लेख गर्नुभयो ।

ज्ञवालीले नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, उद्यमशीलताको विकास, कृषिमा रूपान्तरण, भूमि समस्या समाधान, सामाजिक सुरक्षा र राष्ट्रिय हितमा काम गर्न जरुरी भएकाले एमालेले हिजो मात्रै पार्टीको तर्फबाट ९९ बुँदै सुझाव पत्र सरकारलाई बुझाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button