पार्टीका काममा महिलाको सहभागिता बढाउन जरुरी : अध्यक्ष ओली

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
एमाले चितवनको नवनिर्वाचित समितिको शपथग्रहण समारोहका अवसरमा आज उहाँले पार्टी कामलाई पनि महिलाहरूको बीचमा लैजान निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “महिलाहरूले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम भएको पाइएको छ ।”

फरक प्रसङ्गमा उहाँले भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “पौराणिक मान्यता र शास्त्रहरूमा राम माडीमा नै जन्मिएको स्पष्ट छ । धेरै सूचकले यही कुरा देखाउँछ ।”
माडीमा राम मन्दिर बन्ने बताउँदै उहाँले धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी बढाउन सकिने उहाँले बताउनुभयो । माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने भन्दै उहाँले जङ्गलमा पनि कालोपत्रे गर्न मिल्ने बताउनुभयो ।
एमालेले मिसन –२०८४ भन्दै आएको चर्चा गर्दै अध्यक्ष ओलीले चितवनका सात वटै पालिका र सबै वडा जित्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “चितवन बनाउने हो भने एमालेलाई जिताउनुपर्छ । वडादेखि पालिका सबै एमालेले जित्नुपर्छ ।” पार्टीलाई एकताबद्ध, एकजुट र सक्रिय बनाउन निर्देशन दिँदै उहाँले भन्नुभयो “आन्तरिक सङ्घर्ष होइन, आन्तरिक छलफलबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्नुपर्छ ।”

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गुरु बराल, चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङ, नवनिर्वाचित अध्यक्ष कमल पाठक, निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले धारणा राख्नुभएको थियो ।
एमाले चितवनको जिल्ला अधिवेशन यही जेठ १६ गते सम्पन्न भएको थियो । नवनिर्वाचित समितिले आजै शपथग्रहण गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्