प्रजिअ रिजालसहित सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भ र राप्ती तटीय क्षेत्रको अनुगमन

बाँके । बाँकेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल सहित जिल्लाका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्र नरैनापुरको सीमास्तम्भ र राप्ती तटीय क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
बाँकेमा सरुवा भएर आएपछि पहिलो पटक प्रजिअ रिजाल र एसपी तुल बहादुर कार्कीले बाँकेको नरैनापुर पुगेर त्यहाँस्थित नेपाल–भारत सिमाक्षेत्र बगौडाको निरीक्षण गर्नुभएको हो ।
बिहीबार नरैनापुर पुग्नुभएका प्रजिअ रिजाललाई स्थानीयले आफूहरू नेपाली भएको अनुभूति गर्न नपाएकोप्रति चिन्ता व्यक्त गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपालमा उत्पादन भएको खाद्यान्नलाई तस्करीको भएको भन्दै नियन्त्रणमा लिने गरेको गुनासो गरेका थिए ।

सिमानाकामा नै तस्करी रोक्नु पर्ने सुझाव दिँदै स्थानीयहरूले नेपालमा उत्पादित खाद्यान्नलाई नियन्त्रणमा लिएर दुख दिने कार्य गरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए । प्रमुख जिल्ला अधिकारी रिजालले नरैनापुरमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठिक नभएको बताउँदै उहाँले सिमामा नै तस्करलाई नियन्त्रणमा लिन र स्थानीय किसानलाई पीडा हुनेगरी काम नगर्न सुरक्षा अधिकारीलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सीमा स्तम्भहरूको अवस्था, सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका अपराध हुन नदिन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।
नेपाल–भारत सीमा स्तम्भको अनुगमन गर्दै सीमामा कडाइका साथ शान्त सुरक्षा मजबुत राख्न नेपाल र सशस्त्र प्रहरीलाई निर्देशन दिएको प्रजिअ रिजालले बताउनु भयो ।

यसैगरी आज नै प्रजिअ रिजाल नेतृत्वको टोलीले राप्ती नदिको तटीय क्षेत्रको समेत अनुगमन गरेको छ । वर्षा केही साता आउन मात्र बाँकी रहेको भएपनि अझैसम्म भत्किएको राप्ती नदीको तटबन्धको मर्मत सम्भार र पुनर्निर्माण नगरिएकोले फेरी पनि बाढीबाट डुबान हुने र आफूहरूको बिचल्ली हुने नरैनापुर ६ का स्थानीयहरूले गुनासो गरेका छन् ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले तटबन्ध भत्किएको वर्षौँ हुन लाग्दा पनि सरकारले ध्यान नदिँदा यस क्षेत्रका बासिन्दामा दिनदिनै त्रास र डरसँगै आक्रोश पनि बढ्दै गएको बताउनुभयो ।
‘‘यस क्षेत्रका बासिन्दालाई भोट बैङ्क मात्र बुझ्ने गरिएको छ, बर्षाको मौसम केही दिन मात्र बाँकी छ, तर अहिलेसम्म कसैले तटबन्धका लागि पहल गरेको छैन, गाउँभरि डुबानको त्रास छाइसकेको छ,’’अध्यक्ष शाहले भन्नुभयो ।
बाँकेको राप्तीसोनारी ७ फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा राप्तीसोनारी ७ फत्तेपुर र नरैनापुर ६ गङ्गापुरका करिब १० हजार मानिस डुबानको उच्च जोखिम रहेको र सयौँ विघा खेती योग्य जमिन नष्ट हुने निश्चित रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष अहमद शाहको भनाई छ ।
उहाँले छिट्टै यस तटबन्ध निर्माणको पहल गरि काम अगाडी बढाइयोस् भनी पटक पटक माग गरिएको तर सुनुवाई नभएको बताउनुभयो ।
प्रजिअ रिजालले वर्षात अगावै मर्मत गराउन आफूले सक्दो पहल र प्रयास गर्ने जनाउँदै क्षति हुन नदिन गृह प्रशासनले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने बताउनु भएको थियो ।
सीमा राप्ती तटीय क्षेत्रको अनुगमनमा प्रजिअ रिजाल, प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगी, अनुसन्धानका उपनिर्देशक योगेन्द्र खडका, नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साह, नरैनापुरका १ का अध्यक्ष इसाक जोलाह, नरैनापुर जिन्सी शाखा प्रमुख भरत महतो, लेखापाल प्रकाश अधिकारी र राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारु लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्