तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्रपछि जनतामा राजनीतिक जागरण बढेको छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको स्थापनापछि मुलुकले शिक्षा, स्वास्थ्य, सञ्चार, ऊर्जा तथा पूर्वाधार क्षेत्रको विकासमा फड्को मार्दै गएको बताउनुभएको छ ।

गणतन्त्र दिवस २०८१ को अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार शीर्षकको तस्बिर प्रदर्शनीको आज काठमाडाँैमा शुभारम्भ गर्नुहुँदै मन्त्री शर्माले यस्ता प्रदर्शनीले गणतन्त्रपछि भएका महत्वपूर्ण कामहरूका बारेमा जनतामा सन्देश प्रवाह हुने बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले गणतन्त्रप्रति नकारात्मक टिका–टिप्पणीहरू हुने गरे पनि मुलुकमा कानूनको शासनको स्थापना र तीन तहको सरकारको माध्यमबाट गाउँ–गाउँ सम्म पूर्वाधारको विकास हुँदै जाँदा जनताका बीचमा सकारात्मक सन्देश जान थालेको बताउनुभयो ।

गणतन्त्रपछि जनतामा राजनीतिक जागरण बढेको र विभिन्न समुदायलाई देशको मूल प्रवाहमा जोड्ने काम पनि गरेकाले आम सञ्चार माध्यमले सकारात्मक ढंगले गणतन्त्रका उपलब्धिहरूलाई जनताका बीचमा लैजानुपर्ने पनि सञ्चार मन्त्री शर्माले उल्लेख गनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्रकुमार ठाकुरले पछिल्लो समय नेपालको ऊर्जा, सञ्चार तथा पूर्वाधारका क्षेत्रहरूमा भएका महत्वपूर्ण कामहरू गणतन्त्रको उपलब्धिको रुपमा रहेका बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्रको परिणामलाई आत्मसात् गर्न तस्बिर प्रदर्शनीले प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई र कार्यकारी व्यवस्थापक शितलप्रसाद महतोले मातृभाषा सेवा समाचारको सुरुवात गरेर राससले नेपालका विभिन्न समुदायलाई जोड्ने गरी काम गरिरहेको उल्लेख गर्नुहुँदै गणतन्त्र पछिका उपलब्धिलाई आत्मसात् गर्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास जनाउनुभयो ।

राससको तस्बिर प्रदर्शनीमा गणतन्त्रको स्थापनापछि भएका महत्वपूर्ण कामहरूका ९५ वटा तस्बिरहरू राखिएका छन् भने सो प्रदर्शनी जेठ १६ गतेसम्म चल्ने छ ।

प्रदर्शनीमा सिस्नेखोला थानकोट सुरुङ मार्ग, पुनः निर्मित रानीपोखरी, धरहरा र दरबार हाई स्कुल, चोभार सुख्खा बन्दरगाह, निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुत मार्ग र त्यसको सुरुङ मार्गको तस्बिरहरू राखिएका छन् ।

यस्तै सुनकोशी मरिन र भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका सुरुङ, तराईको हुलाकी मार्ग, रौतहटको मौलापुर एकिकृत नमूना बस्ती लगायतका महत्वपूर्ण तस्बिरहरू प्रदर्शनीमा राखिएका छन् ।
राससले यसअघि गणतन्त्र दिवसकै अवसरमा गत वर्ष हाम्रो संस्कृति हाम्रो सम्पदा शीर्षकमा तस्बिर प्रदर्शनीको आयोजना गरेको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button