तपाईँ सुन्दै हुनुहुन्छः

सदनको अवरोध हटाउन प्रधानमन्त्रीद्वारा काँग्रेससँग सहमतिको प्रयास जारी

प्रतिनिधि सभाको बैठक चार बजेका लागि सर्‍यो


काठमाडौँ । प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले आज विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठक सुचारु गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रससँग सहमतिको प्रयास भइरहेको भन्दै सभामुख देबराज घिमिरेलाई बैठक केहिबेर ढिला गर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच टेलिफोन मार्फत भएको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बोल्ने गरी वातावरण निर्माण गर्ने प्रयास भइरहेको जानकारी गराउनुभएको छ ।

यसैबीच, सभामुख घिमिरेले आज संघीय संसद भवन नयाँबानेश्वरमा संसदको गतिरोध अन्त्य लगायतका विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पद्म गिरीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ ।
छलफलमा उपसभामुख इन्दिरा राना, कांग्रसका सचेतक सुशीला थिङ, एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, र राप्रपाका सचेतक बिनाकुमारी लामा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button