यार्सा टिप्न गएकी एक युवतीको निधन, चार युवा अलपत्र
जुम्ला । यार्सा सङ्कलन गर्न गएकी पातारासी गाउँपालिका वडा नं. १ स्यालागडी गाउँ निवासी विष्णुमाया ऐडिको मृत्यु भएको छ । यार्सा सङ्कलनका लागि गएकी ऐडिको डोल्पाको प्यारी गुफा लेकमा माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको हो ।
घर खर्चको जोहो गर्न यार्सा सङ्कलन गर्न विष्णुमाया डोल्पाको पाटनमा पुगेकी थिइन् । वैशाख २७ गतेका दिन डोल्पाको प्यारी गुफा लेक नजिक अचानक माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि विष्णुमायाको मृत्यु भएको पातारासीका स्थानीय श्रीराम थापाले जानकारी दिनुभयो । विष्णुमायाको मृत्युसँगै दुई छोरा छोरी आमा विहीन बनेका छन् । मृतक ऐडिका अन्दाजी ८ वर्षका छोरा र १० वर्षकी छोरी बिचल्लीमा परेका वडाध्यक्ष लालसिंह ऐडिले बताउनुभयो ।
वडाध्यक्ष ऐडिका अनुसार शव जुम्ला ल्याउन सम्भव नभएकोले पाठनमै गाडेर अन्तिम संस्कार गरिएको छ ।
यसैबीच यार्सा सङ्कलन गर्न गएका जुम्ला पातारासीकै चार जना युवा डोल्पाका विभिन्न पाटनमा अलपत्र परेका छन् । पातारासी गाउँपालिका ३ का चार जना युवाहरू डोल्पाको साल्दाङ फोतगाउँ पासुक क्याम्पमा अलपत्र परेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । उहाँका अनुसार अलपत्र पर्नेमा पातारासी ३ मोहरी गाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत रहेका छन् ।
चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी परेका छन् । अलपत्र परेका चारै जना युवाको उद्धारका लागि सबै निकायसँग अपिल गरिएको अध्यक्ष बोहोराले उल्लेख गर्नुभयो । जुम्लाबाट संघ प्रदेशमा प्रतिनिधित्व गर्ने सांसददेखि गृह मन्त्रालयमा समेत उद्धारमा सहयोग गर्न माग गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्