कोसी प्रदेशमा कृषि मूल्य सूचना प्रणाली सञ्चालन

विराटनगर । कृषि क्षेत्रको सबलीकरण तथा व्यवसायीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोसी प्रदेश सरकारले आजदेखि कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयले विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी सूचना प्रणाली सञ्चालनमा ल्याएको हो ।
सूचना प्रणालीको उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा मन्त्री खत्रीले सूचना प्रणालीले तीनै तहको सरकारलाई कृषि उपज उत्पादन बजारीकरण सम्बन्धि समयानुकूल नीति तथा कार्यक्रमहरू बनाउन सहयोग पुग्ने बताउनुभयो ।
मन्त्रालयका सचिव डा.लेखराज दाहालले सूचना प्रणालीले हरेक दिनको कृषि उपजको मूल्यको विषयमा सहजै जानकारी पाउन सकिने भएकाले यसबाट कृषक, उपभोक्ता तथा थोक बिक्रेतालाई बढी फाइदा पुग्ने बताउनुभयो ।
कृषि व्यवसायीदेखि उपभोक्तासम्मको हितलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याएको सूचना प्रणालीले साना तथा ठुला कृषक, ठुला लगानीमा सञ्चालित कृषि फर्म साथै व्यापारी तथा प्रशोधनकर्तालाई प्रत्यक्ष फाइदा पुग्ने मन्त्रालयका महाशाखा प्रमुख पशुपति पोखरेलले बताउनुभयो ।

मन्त्रालयले सञ्चालनमा ल्याएको यो सूचना प्रणालीको विकास गर्न नेपाल कृषि बजार बिकास कार्यक्रम, साना सिँचाई कार्यक्रम तथा स्वीस विकास सहयोग नियोगले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।
सूचना प्रणालीमा कोसी प्रदेशका कृषि बजार व्यवस्थापन समिति धरान, कृषि बजार व्यवस्थापन समिति विर्तामोड, कृषि बजार व्यवस्थापन समिति इनरुवा, तथा पालिका स्तरीय सगरमाथा कृषि थोक बजार गाईघाट, कृषि तथा पशुपन्छी बजार दुहबी नयाँ सब्जी बजार दमक तथा जल्पादेवि कृषि उपज सङ्कलन केन्द्र धनकुटा आबद्ध छन् ।
यो प्रणालीमार्फत कृषक तथा उपभोक्ताहरूले कृषि उपजको थोक बजार मूल्य थाहा पाउन इन्टरनेटको सुविधा भएको ठाउँमा मन्त्रालयको वेबसाइटमार्फत तथा इन्टरनेटको सुविधा नभएको अवस्थामा मूल्य बुझ्न चाहेको वस्तुको नाम टाइप गरी ३७००१ मा म्यासेज पठाएमा उक्त वस्तुको सो दिनको मूल्यको जानकारी प्राप्त गर्न सकिन्छ ।
आगामी दिनमा कोशी प्रदेशमा सञ्चालनमा रहेका सार्वजनिक तथा निजी बजारहरूलाई समेत सूचना प्रणालीमा समावेश गर्ने लक्ष्य लिइएको छ ।
सूचना प्रणालीमा कोसी प्रदेश बाहिरका बुटवल, पोखरा तथा काठमाडौँका कृषि थोक बजारको मूल्य सूचनाहरू समेत सहज रूपले हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
सूचना प्रणालीमा उल्लेखनीय कृषि बजारको मूल्य सूचना दैनिक रुपमा आवधिक गर्ने गरिन्छ । दैनिक मुल्यसुची आवधिक गर्ने कार्य सम्बन्धित कृषि बजारको सूचना सङ्कलकले मोबाइल एप्लिकेशन प्रयोग गरी यस प्रणालीमा पठाउने व्यवस्था मिलाइएको छ ।
हरेक दिनको कृषि उपजको मूल्य सामान्यतः बिहान ७ः०० बजे देखि ११ बजेसम्म अद्यावधिक गर्ने गरिन्छ । यस प्रणालीमा मोबाइल एप्स र कम्प्युटर दुवैबाट मूल्य अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।
प्रणालीमार्फत कुन दिन, कुन बाली, कुन बजारमा कति परिमाणमा कारोबार भयो, कुन उपज कति परिमाणमा बजारबाट बाहिरियो तथा सबैभन्दा बढी घटबढ हुने वस्तु के के हुन भन्ने विषयमा समेत जानकारी गराइनै व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा सूचना प्राविधिक रेसिका कोइरालाले कृषि सूचना प्रणालीको विषयमा जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्